यूएन महासभामा गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछुः प्रधानमन्त्री दाहाल

महासभामा आफूले जलवायु परिवर्तनका कारण गरिब मुलुकहरूले भोग्नुपरेको समस्याबारे धारणा राख्ने पनि बताए।

काठमाडाैँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संयुक्त राष्ट्रसंघ (यूएन)को महासभामा आफूले गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिने बताएका छन्। 

बुधवार काठमाडौँमा आयोजित ‘मुलुकको समृद्धिः सम्भावना र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले नेपाल अति कम विकसित राष्ट्रको अध्यक्ष राष्ट्र भएको उल्लेख गर्दै त्यसको पक्षमा नयाँ 'भिजन' दिनेगरी यूएन महासभामा प्रस्तुत हुने दाबी गरे। एक हप्तापछि अमेरिकामा हुन गइरहेकाे यूएनको ७८औँ  महासभामा आफूले जलवायु परिवर्तनका कारण गरिब मुलुकहरूले भोग्नुपरेको समस्याबारे पनि जोड दिएर धारणा राख्ने बताए।

उनले आफ्नो चीन भ्रमणमा पनि कृषि, पूर्वाधार र विद्युतका लागि ट्रान्समिसन लाइन निर्माणमा बढी जोड दिएर छलफल गर्ने पनि बताए। प्रधानमन्त्री दाहालले सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै जनतामा निराशा बाँड्ने काम नगर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे।

"गरिबको नेता छ यतिबेला नेपाल। त्यो हैसियतले गरिब देशहरूको तर्फबाट पनि हामीले केही कुरा भन्नु छ। केही नयाँ भिजन दिनुछ," प्रधानमन्त्री दाहालले भने, "त्यसपछि लगत्तै चीन भिजिटमा हाम्रो एग्रिकल्चर सेक्टरमा, म्यानुफ्याक्चरी सेक्टरमा, पूर्वाधार विकासमा, अनि ट्रान्स-मिसनलाइनमा पनि हामीले जोड दिने प्रयास गर्दैछौँ।"