मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा, टेबल अग्लो हुँदा छाप लगाउन र मत खसाल्न गाह्रो हुने गरेको अपाङ्गता भएका व्यक्तीकाे गुनासाे छ।
तनहुँ– व्यास नगरपालिका–१० का कृष्णा थापालाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ। मङ्सिर ४ गते मतदान गर्न आतुर छिन्।
तर, मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा उनलाई समस्या हुँदै आएको छ। “मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा मतदान गर्न जान निकै अप्ठ्यारो हुँदै आएको छ। अपाङ्गतामैत्री भइदिए सहजरूपमा मतदान गर्न पाउँथ्यौं”, उनले भनिन्, “चौर भएको ठाउँमा ह्वीलचियर गुडाउन गाह्रो हुन्छ।”
मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा मत खसाल्ने बेला अप्ठ्यारो हुने गरेको उनको अनुभव छ। “छाप लगाउने ठाउँमा टेबल अग्लो भइदिँदा हामीजस्ता ह्वीलचियर प्रयोगकर्तालाई छाप लगाउन गाह्रो हुने गरेको छ। मतपेटिका पनि अग्लो स्थानमा राखिदिँदा मत खसाल्न गाह्रो हुन्छ”, उनले गुनासो गरिन्। उनी अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको सहृदयी मञ्च तनहुँका सचिव हुन्।
मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन पटक–पटक माग गर्दै आए पनि सुनुवाइ हुन नसकेको उनको गुनासो छ। अधिकांश मतदान केन्द्रमा ह्वीलचियर लैजान नै नसकिने उनको अनुभव छ। “मतदान केन्द्र विद्यालयमा हुन्छ। त्यहाँ प्रवेशद्वार हुने भएकाले ह्वीलचियर लैजान समस्या हुने गरेको छ” उनी भन्छिन्, “प्रवेशद्वार अपाङ्गतामैत्री हुँदैन, सिँढी हुन्छ, कतिपय प्रवेशद्वार खोलिदैन। ह्वीलचियर लैजान नमिलेपछि मलाई उचालेर भित्र लगिएको थियो।”
स्थानीय तह निर्वाचनमा आफूसँग गएको सहयोगीले तपाईं गेटमै बस्नुस्, म भोट हाल्दिहाल्छु भनेको उनले बताइन्। “हाम्रो भोट अरुले हालिदिओस् भन्ने हामी चाहँदैनौँ। म अपाङ्गता हो। मेरो आधा शरीरले काम नगर्ला, मेरो एउटा अङ्गले काम नगर्ला”, उनी भन्छिन्, “मतदान गर्ने मेरो अधिकार म आफैँ प्रयोग गर्छु।”
मतदान केन्द्रमा जानका लागि अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिने गरिए तापनि केन्द्र नै अपाङ्गतामैत्री नहुँदा समस्या हुँदै आएको रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बाँस्तोलाले बताए। निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले मतदान केन्द्र व्यवस्थापन गर्दा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताए।
जिल्लामा तीन सय पाँच मतदान केन्द्र छन्। सबै मतदान केन्द्र विद्यालय र गाविस भवनमा निर्धारण गरिएको छ। विद्यालय र गाविस भवनका मतदान केन्द्र अपाङ्गतामैत्री छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
