कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन मनाइँदै

उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहीबार विशेष मेला लाग्छ। त्यसैले यस औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। 

फाइल तस्वीर

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व बिहीबार वैदिक सनातन धर्मावलम्बीले देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने कुश घरघरमा भित्र्याएर मनाउँदैछन्।

ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए। 

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन्। ब्रह्माले विवेकशील प्राणीसँगै कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ। यस दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृ कार्यमा प्रयोग गरिने भट्टराईले बताए। 

यसैबीच, छोराछोरीले आजकै दिन बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।

विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। त्यसैले यस औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ। यसैगरी रसुवा र नुवाकोट संगमस्थल वेत्रावतीमा पनि मेला लाग्छ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ। बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ।

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत सयौँ भक्तजन पितृतृप्तीको कामनाले आउने गरेको पुजारी जगदीशचन्द्र भट्टले बताए।