पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनको भीड

गोकर्णेश्वरमा भक्तजनको भीडका कारण बिहानैदेखि सुन्दरीजल –जोरपाटी  र बागमतीको कोरिडोर भएर गुड्ने सवारीसाधनलाई निषेध गरिएको छ।

तस्वीर: रासस

काठमाडौँ– दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया (पितृ तीर्थ धाम)मा भक्तजनको भीड लागेको छ। भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्छन् भन्ने धार्मिक विश्वास छ। 

यही विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीकोसमेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो। गोकर्णमा भक्तजनको भीडका कारण बिहानैदेखि सुन्दरीजल –जोरपाटी  र बागमतीको कोरिडोर भएर गुड्ने सवारीसाधनलाई निषेध गरिएको बौद्धस्थित ट्राफिक प्रहरी वृत्तले जनाएको छ। सत्ययुगमा ब्रह्माले नै स्थापना गरेको स्थल भएकाले यहाँ आई पितृलाई तर्पण, सिदा र पिण्डदान गर्ने चलन रहेको मन्दिरका पुजारी जगदीश भट्टले जानकारी दिए।

गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिक रूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा गर्न सकिने जति राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाइएको बताउँछन्। गाडीको असुविधाले मेलामा दुःख पाइएको भक्तपुर चाँगुनारायणबाट आएकी जया खत्रीले बताइन्। “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न सकेको छैन। यसलाई सहज बनाउनुपर्ने देखियो,” उनले भनिन्। 

मन्दिर क्षेत्रमा सार्वजनिक जग्गामा घर बनाइ बाटो साँघुरो भएकोले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि जयाको गुनासो छ। मन्दिरको दक्षिण भागबाट बनेको सडक दक्षिणढोका निस्कने भए पनि त्यो पर्खालभित्र रहेको र नेपाली सेनाको सुरक्षा घेराभित्र यो क्षेत्र परेको छ। शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको व्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाइएको धेरै भक्तजन बताउँछन्। 

यस क्षेत्रमा वैदिक सनातन हिन्दु धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लाग्ने गरेको छ। एक वर्षभित्र पिताको दिवंगत भएका बौद्धमार्गी पनि यहाँ आएर श्राद्ध र पूजा आजा गरी भोज खाने प्रचलन रहेको बौद्ध धर्म गुरु काल्साङ लामाको भनाइ छ।

बौद्धमार्गीले आजका दिन गोकर्णमा आई दर्शन गरेमा दिवंगत पितृको स्वरूपको दर्शन गर्न पाइने विश्वाससमेत रहेको उनको भनाइ छ। गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ। पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ।  

हिन्दु धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कार्यका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन्। कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ। त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि मनाइँदैछ। गोकर्णेश्वर मन्दिर क्षेत्रमा आज बेलुकीसम्म नै पितृका नाममा श्रद्धाभाव प्रकट गर्ने भक्तजनको भीड लाग्ने मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले बताए। 

मेलाका लागि बुधबारदेखि २०० स्वयंसेवक खटाइएको उनले बताए। बेलुकीसम्म करिब पाँच लाख भक्तजनले मन्दिर क्षेत्रमा आएर पितृप्रति सम्मान भाव प्रकट गर्न सक्ने गरी व्यवस्थापन गराइएको पनि समितिले जनाएको छ। दिउँसो १२ बजेसम्म करिब तीन लाख भक्तजनले गोकर्णेश्वरबाट उत्तर गयासम्म बागमती किनारमा बसेर पितृप्रति सम्मान भाव प्रकट गरेको पनि अध्यक्ष महतले उल्लेख गरे।