उपकरण बिग्रिएपछि हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिएपछि सिमेन्टको क्लिंकरको उत्पादन अवरुद्ध भएको छ।

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिएपछि सिमेन्टको बिहीबार बिहानदेखि उत्पादन ठप्प भएको छ। 

उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्ट उत्पादन गर्ने क्लिंकरको उत्पादन अवरुद्ध भएको छ। आगामी ३–४ दिनभित्रै उक्त उपकरण मर्मत गरेर सिमेन्ट उत्पादन शुरू गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महापबन्धक नवीनकुमार कर्णले बताए। 

उद्योगमा अहिले पर्याप्त कोइला र चुनढुंगा जगेडामा राखिएको उनको भनाइ छ। अहिले दैनिक १० हजार बोरा सिमेन्ट सो उद्योगले उत्पादन गर्दै आएको उद्योग व्यवस्थापनले जनाएको छ। उद्योगमा कोइलाको अभावले करिब दुई महिना बन्द गरेर दुई हप्ताअघि मात्रै पुनः सिमेन्ट उत्पादन थालिएको थियो। 

पुनः प्राविधिक समस्या आउँदा सिमेन्टको उत्पादन बन्द गर्नुपरेको उद्योग प्रशासन महाशाखाका अधिकृत शत्रु अर्यालले जानकारी दिए।