ग्रेट हिमालय ट्रेल पदयात्रा शुरू

ग्रेट हिमालय ट्रेलअन्तर्गत नेपाली पदमार्ग भ्रमण पूरा गर्न करिब एक सय ५० दिन आवश्यक पर्ने विदेशी पर्यटकका पथप्रदर्शक सन्तोष तामाङ बताउँछन्।

तस्वीर: ग्रेट हिमालय ट्रेलकाे वेबसाइटबाट

ताप्लेजुङ– बृहत् पदमार्ग ठानिएको ग्रेट हिमालय ट्रेल पदमार्गमा पदयात्रा गर्न शुरू गरिएको छ। ताप्लेजुङदेखि शुरू हुने पदयात्राको पदमार्ग दार्चुलासम्म फैलिएको छ। सो पदयात्रा गर्न विदेशी नागरिकले ताप्लेजुङदेखि शुरूआत गरेका छन्। 

प्राकृतिक सुन्दरताको अवलोकनसँगै उच्च हिमाली क्षेत्र हुँदै पदयात्राको अनुभव लिनका लागि पछिल्लो समयमा पर्यटकको रोजाइमा सो पदयात्रा पर्दै गएको हो। दुई विदेशी नागरिकसहितको टोली ग्रेट हिमालय ट्रेल पदमार्गमा भ्रमणका लागि ताप्लेजुङबाट आज घुन्सा प्रस्थान गरेको छ। स्लोभेनियाका ६७ वर्षका मारिया आन्द्रेको नेतृत्वमा ग्रेट हिमालय ट्रायल पदमार्गका लागि यात्रा शुरू गरिएको हो। उनले यसअघि नै सगरमाथासहित आठ हिमालसमेत सफल आरोहण गरिसकेकाे बताए। सन् १९९१ मा ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल सफल आरोहण गरिसकेका आन्द्रेले अहिले ग्रेट हिमालय ट्रेल पदयात्रा गर्न नेपाल आएको बताए।

हिमालय ट्रेलको पदयात्रा गराउनका लागि सोलुखुम्बुका इनसुहाङ राई गाइड (पथ प्रदर्शक) रहेका छन्। राईका अनुसार एक सय १५ देखि एक सय २० दिन सम्ममा ग्रेट हिमालय ट्रेलको पदयात्रा पूरा गर्ने योजना रहेको छ। दुई विदेशी नागरिक, आवश्यक सामग्री बोक्ने शेर्पा र एक पथप्रदर्शक गरी पदमार्गमा यात्रा पूरा गर्नका लागि ५० लाखदेखि ६० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको राईले बताए।

गत साता तीन विदेशी नागरिकलाई ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट सुखद भ्रमणको कामनासहित बिदाइ गरिएको थियो। टोलीमा दुई जर्मनी नागरिक लुकास र आन्ना तथा एक अष्टे«लियाली नागरिक क्रिष्टोफर गे्रट हिमालय ट्रेल पदयात्रा गर्न ताप्लेजुङ पुगेका थिए। उनीहरूलाई फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले भ्रमणका लागि आएकामा स्वागत गर्दै भ्रमण सफलताको कामनासहित बिदाइ गरेका थिए।

भ्रमण टोली ग्रेट हिमालय ट्रेलअन्तर्गत कञ्चनजङ्घा बेसक्याम्प घुन्साबाट ओलाङचुङ्गोला हुँदै लुम्बासुम्बा हिमालबाट सङ्खुवासभाको मकालु बेस क्याम्पतर्फ जाने कार्यसूची रहेको पर्यटन व्यवसायी तेञ्जिङ नुपुले जानकारी दिए। उनीहरूको भ्रमण ग्रेट हिमालय ट्रेलअन्तर्गत नेपाली पदमार्ग क्षेत्रमै केन्द्रित हुने जानकारी आफूले पाएकोसमेत उनले बताए। 

ग्रेट हिमालय ट्रेलअन्तर्गत नेपाली पदमार्ग भ्रमण पूरा गर्न करिब एक सय ५० दिन आवश्यक पर्ने विदेशी पर्यटकका पथप्रदर्शक सन्तोष तामाङ बताउँछन्। टोली फुङ्लिङबाट पदमार्ग हुँदै हाङ्देवा–मितलुङ–सिँवा–छिरुवातर्फ अघि बढेको छ। सडक सञ्जाल स्थापित हुनुअघि विदेशी पर्यटकले कञ्चनजङ्घातर्फ जान प्रयोग गर्ने यही मार्ग हो। पदमार्ग मात्र हुँदा विदेशी पर्यटकले सदरमुकाम फुङ्लिङबाट लेलेपतर्फको पदमार्ग प्रयोग गर्दा पहिलो क्याम्पका रूपमा मितलुङ, दोस्रो छिरुवा र तेस्रो लेलेपलाई प्रयोग गर्ने गरेका थिए। 

करिब चार हजार पाँच सय किमी लामो ग्रेट हिमालय ट्रेलमध्ये नेपालमा मात्र करिब एक हजार सात सय किमी भाग पर्छ। यसले नेपालको पूर्वमा ताप्लेजुङको कञ्चनजङ्घादेखि पश्चिममा दार्चुलासम्मको भूभाग ओगटेको छ। नेपालभित्र मुख्य १० क्षेत्रलाई समेटेर ग्रेट हिमालय ट्रेलको अवधारणा कोरिएको हो।

ग्रेट हिमालय पदयात्राको पदमार्गमा बन्ने संरचना पूर्वदेखि पश्चिमसम्म एउटै गुणस्तरको बनाउने अवधारणा अघि सारिएको छ। ताप्लेजुङमा पर्यटकको चहलपहल हुन थालेसँगै पर्यटन व्यवसायी, होटल सञ्चालक तथा यातायात व्यवसायी उत्साहित भएको होटल व्यवसायी विमल भण्डारीले बताए।