प्रधानमन्त्रीकाे चीन भ्रमणका क्रममा विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिनुपर्ने विज्ञकाे सुझाव

काठमाडाैँमा आयोजित 'विकसित नेपाल चीन सम्बन्ध चुनौती र अवसर' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले यस्ताे सुझाव दिएका हुन्।

काठमाडाैँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमणका क्रममा विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिनुपर्ने  परराष्ट्र मामिलाका जानकारहरूले बताएका छन्। 

सामाजिक समावेशीकरण र संघीयता केन्द्रद्वारा काठमाडाैँमा आयोजित 'विकसित नेपाल चीन सम्बन्ध चुनौती र अवसर' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले विगतमा प्रधानमन्त्री तथा राष्ट्रपति भ्रमणका बेला थुप्रै सम्झौता भएको तर, अहिलेसम्म पनि कार्यान्वयन नभएकाले ती सम्झौता कार्यान्वयनमा जोड दिुनपर्ने बताएका हुन्। परराष्ट्र मामिलाका जानकार मधुरमण आचार्यले सम्झौता हुने तर कार्यान्वयन नहुने अवस्था भएकाले कार्यान्वयनमा जोड दिनुपर्ने बताए। 

“सम्झौता हुने तर कार्यान्वयन नहुने अवस्था छ।  केपी ओली प्रधानमन्त्री हुँदा र राष्टपति विद्या भण्डारीको चीन भ्रमणका क्रममा भएका सम्झौता अहिलेसम्म कार्वान्वय भएका छैनन्,” आचार्यले भने “चीनले पत्यार गर्ने खालको सम्बन्ध स्थापित गर्नुपर्छ। हामीले स्थिर सम्बन्धमा ध्यान दिनुपर्छ। हुन्छ वा हुन्न भन्ने कुरालाई क्लिअर पार्नुपर्छ।”

नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझाले चीनसँगको व्यापारघाटा कम गर्नका लागि नेपालले हिमाली क्षेत्रमा रहेका जडीबुटीहरूलाई प्रशोधन गरेर औपचारिक माध्यमबाट चीनमा निकासी गर्नुपर्ने बताए। अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नेपाल चीनसँग सीमाक्षेत्र जोडिएका नाकाहरूमा नेपालतर्फको भौतिक पूर्वाधार कमजोर रहेको भन्दै सरकारले लगानी गरेर सुधार गर्नुपर्नेमा जोड दिए। चीन र भारत  विश्वको ठूलो बजार भएको भन्दै नेपालले ती देशहरूको बजारबाट फाइदा लिन नसकेको उनकाे भनाइ छ।

“युरोप र अमेरिकाले चीन र भारतको बजारलाई हेरिरहेका छन्। त्यहाँको बजारमा अवसर छ। हामीले त्यहाँबाट फाइदा लिन सकेका छैनौं,” उनले भने। चीन विश्वको सबैभन्दा ठूलो लगानीकर्ता भएको बताउँदै पूर्वसचिव ओझाले नेपालले लगानी भित्राउने कुरामा जोड दिनुपर्ने बताए। 

प्रधानमन्त्रीका पूर्वपरराष्ट्र सल्लाहकार दिनेश भट्टराईले बीआरआईमा नेपालको प्राथमिकता स्पष्ट पार्नुपर्ने बताए। “हामीलाई के चाहिएको छ र प्राथमिकता के हो, हामीले स्पष्टरूपमा भन्न सक्नुपर्छ,” उनले भने।

प्रधानमन्त्री दाहाल अमेरिकामा हुन लागेकाे संयुक्त राष्ट्रसंघकाे ७८औँ महासभामा सहभागी भएर सेप्टेम्बर २३ मा त्यहीँबाट चीन भ्रमणमा जाने बताइएकाे छ।