संघीय संसदका दुवै सदनबाट नेम्वाङप्रति शाेक प्रस्ताव पारित

दुवै बैठकमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। उनको सम्मानमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ।

काठमाडाैँ– संघीय संसदका दुवै सदनबाट संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङप्रति शाेक प्रस्ताव पारित भएकाे छ। बिहीबार बसेको राष्ट्रियसभा र प्रतिनिधिसभाकाे बैठकले उनकाे निधनमा शाेक प्रस्ताव पारित गरेका हुन्।

दुवै बैठकमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। उनको सम्मानमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ। राष्ट्रियसभाकाे बैठकमा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा भएकाे निधनप्रति राष्ट्रिय सभाको बैठकले गहिरो शोक प्रकट गरेको बताए। राष्ट्रियसभाको अर्को बैठक २०८० साल असोज १२ गते शुक्रबार १२:१ मिनेटमा बस्नेछ।

यस्तै, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले  लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका, संविधान सभामार्फत नेपालको संविधान निर्माणमा अहं र नेतृत्वदायी भूमिका खेलेका मृदुभाषी, सरल र सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताए। प्रतिनिधिसभाको अर्को बैठक भदौ २९ गते शुक्रबार १ बजे बस्नेछ।

गएकाे मंगलबार हृदयघातबाट निधन भएका नेम्वाङकाे बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ।