डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

नेपाल चिकित्सक संघकाे ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले डाक्टरमाथि आक्रमण गर्नेलाई कानूनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताएका छन्।

बिहीबार नेपाल चिकित्सक संघको ज्ञापनपत्र बुझ्दै उनले डाक्टरमाथि आक्रमण गर्नेलाई कानूनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको संघका उपाध्यक्ष डा. प्रकाश बुढाथोकीले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने जोकोहीलाई उन्मुक्ति नदिने बताएको उनकाे भनाइ छ। 

संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानूनी कारबाही गर्न माग गरिएको छ। बुधबार हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला आक्रमण गरिएको थियो। उक्त घटनाको विषयलाई लिएर बिहीबार प्रधानमन्त्रीसँग संघको टोलीले भेट गरेको थियो।

संघले नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी थप सुविधासम्पन्न अस्पतालमा बिरामीलाई पठाइएको र बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई पहिचान गरी कानूनी दायरामा ल्याउन माग गरेको छ। 

याे पनि: हेटाैँडामा डाक्टर कुट्ने ४ जना पक्राउ

डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरूले चितवन ‘रिफर’ गरिएको र उपचारका क्रममा बिरामीको गएकाे साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए।