पुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदान

पुटिनले किमलाई अन्तरिक्षमा धेरैपटक भ्रमण गरेको अन्तरिक्ष सुटको पञ्जा पनि उपहार दिएका छन्।

रूसी राष्ट्रपति भलादमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रूसको सुदूर–पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि एकअर्कालाई राइफल उपहार दिएका छन्। 

दुई नेताबीच बिहीबार राइफल आदानप्रदान भएकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएकाे छ। “पुटिनले किमलाई हाम्रो उत्पादनमध्ये उच्च गुणस्तरको राइफल दिए,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एएफपीसँग भनेका छन्। बदलामा पुटिनले उत्तर कोरियामा निर्मित राइफल पनि उपहारस्वरूप प्राप्त गरेका छन्। यस्तै पुटिनले किमलाई अन्तरिक्षमा पुगेकाे पन्जा पनि उपहार दिएका उनले बताए।

“पुटिनले किमलाई अन्तरिक्षमा धेरैपटक भ्रमण गरेको अन्तरिक्ष सुटको पञ्जा पनि दिएका छन्। यसलाई उत्तर कोरियाको अन्तरिक्ष यात्राको सफलताको शुभेच्छाका रूपमा अर्थ्याइएको छ,” पेस्कोभले भने। यस्तै पुटिनले ‘कृतज्ञतापूर्वक’ उत्तर कोरिया भ्रमणको निमन्त्रणालाई स्वीकार गरेकाे पनि उनले जानकारी दिए। उनका अनुसार किमको रूस भ्रमण अझै केही दिन लम्बिन सक्छ।

दुई नेताबीच हतियार सहयाेगकाे विषयमा छलफल भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अहिले युक्रेन युद्धमा रुसलाई हतियार सहयाेग गर्ने र पछि आफ्नाे आणविक हतियार निर्माणमा रुसकाे सहयाेग लिन किमकाे भ्रमण रहेकाे बताइएकाे छ।