१८ वर्षसम्म विमानस्थललाई नै घर मानेर बसेका नासेरीको मृत्यु

न परिवार नातागोता न घरबारको अत्तोपत्तो न आधिकारिक प्रमाण, नासेरीसँग आफूले बोकेका सीमित सामानबाहेक आफ्नो भन्ने कोही थिएन। उनलाई कोही खोज्न पनि आएन। न उनको आफ्नी आमा भेट्ने रहर पूरा भयो।

तस्वीर: द गार्डियन

फ्रान्सको राजधानी पेरिसस्थित वसी सार्ल ड गुल विमानस्थललाई नै घर मानेर १८ वर्षसम्म बसेका मेहरन करिमी नासेरीको मृत्यु भएको छ। धेरैले उनलाई सर अल्फ्रेड मेहरन भनेर पनि चिन्छन्। इरानी नागरिक नासेरी त्यस विमानस्थलको एक टर्मिनलमा १८ वर्षसम्म आफ्नो घर नै मानेर बसे।

विमानस्थललाई घर मान्नुपर्ने र एक्लै बस्नुपर्ने अवस्थामा नासेरी कसरी पुगे भन्ने विषय दुखदायी तर आश्चर्यजनक छ। विभिन्न मुलुकका कूटनीतिक झमेला र व्यक्तिगत विवरणको समस्याका कारण नासेरीले जीवनको १८ वर्ष एक विमानस्थलमै गुजार्न बाध्य बनेका थिए।

नासेरीको जन्म इरानको खुजेस्तान प्रान्तमा सन् १९४५ मा भएको थियो। उनी युवा अवस्थामा हुँदा इरानमा इस्लामिक क्रान्तिका कारण जारी सरकारविरोधी आन्दोलन र राजनीतिक अस्थिरताका कारण इरानी नागरिकहरू विस्थापित हुन थालेका थिए। आन्तरिक द्वन्द्वमा फसेका इरानीहरूलाई राष्ट्रसंघले भ्रमण कागजात र शरणार्थी मान्यता दिएको थियो। यस्ता शरणार्थीहरू विश्वका जुनसुकै मुलुक जान पाउँथे।

बेलायतमा अर्थशास्त्र विषय पढिरहेका नासेरीले अध्ययनका लागि खर्च जुटाउन नसकेपछि पुनः स्वदेश फर्किए। तर, मुलुकको अस्थिरताले उनलाई पनि राष्ट्रसंघबाट प्राप्त हुने शरणार्थी मान्यता कार्ड बनाउन बाध्य बनायो। सहज जीवनयापनका लागि भन्दै उनी युरोप उडे। तर, भ्रमण तथा अध्यागमन कागजात र नमिलेको भन्दै बेलायत, बेल्जियम, नेदरल्यान्ड्स र जर्मनीले उनलाई देश निकाला गरे।

एक देशदेखि अर्को देश भौतारिएका उनले अन्त्यमा आफ्नी आमाको खोजीमा बेलायत जाने निधो गरे। उनले विमानबाट नभई सामुद्रिक बाटोमार्फत डुंगामा फ्रान्स हुँदै बेलायत जाने प्रयास गरे। यात्राका क्रममा उनका सबै आधिकारिक कागजात र प्रमाणपत्र भएको बाकस नै चोरी भयो। अवैध रूपमा यात्रा गरेको आरोपमा उनी पक्राउ परे। पक्राउ परेपछि उनले कागजात चोरी भएको उजुरी दिए, तर उनका कागजपत्र फेला परेनन्।

त्यसपछि पनि उनी अन्तिम प्रयास स्वरूप सार्ल ड गुल विमानस्थल हुँदै बेलायत जान खोजे पनि प्रयास असफल नै भयो। कागजात नभएको भन्दै उनलाई प्रस्थान बिन्दुमै रोकियो। अन्ततः उनी आफ्ना सारा सामानसहित सोही विमानस्थलकै टुएफ टर्मिनल (प्रस्थान बिन्दु) मा बस्न थाल्छन्। न परिवार नातागोता न घरबारको अत्तोपत्तो, आधिकारिक प्रमाण, नासेरीसँग आफूले बोकेका सीमित सामानबाहेक आफ्नो भन्ने कोही थिएन। उनलाई कोही खोज्न पनि आएन। न उनको आफ्नी आमा भेट्ने रहर पूरा भयो। एक्लिएका उनको एकमात्र सहारा बन्यो त्यही टर्मिनल। त्यहाँको एउटा बेन्च र विमानस्थलको सेरोफेरो उनको घर बन्यो।

बिहानै उठ्ने विमानस्थलमै यता उता गर्ने, आफूजस्तै अलपत्र परेकालाई सहयोग गर्ने, आफ्नो जीवनकथा लेख्ने, पत्रिका र किताबहरू पढ्ने गर्दै नासेरीले आफ्नो दिनचर्या बिताउन थाले। विमानस्थलमा पनि धेरैले सहयोग गर्न थाले। त्यहाँको केएफसीले त उनलाई सित्तैमा खाना दिन्थ्यो। पैसा खर्च गर्नु परेन। बरू उनको अवस्थाप्रति दया लाग्ने र उनको बारेमा थाहf हुनेले बरू पैसा सहयोग गर्थे। विमानस्थलका कर्मचारी नै उनका साथी भए।

पछि हलिउड चलचित्रको टोलीले उनको जीवनकथाबारे चलचित्र नै बनाएपछि चर्चा थप चुलियो। नासेरीको जीवनकथा र अनुभवको प्रेरणाले हलिउडमा चलचित्र 'द टर्मिनल' बनेको हो। सन् २००४ मा निर्मित टम ह्यांक्सको प्रमुख भूमिका रहेको चलचित्र द टर्मिनल नासेरीकै जीवनकथामा आधारित छ। अन्तर्राष्ट्रिय पत्रकार र अधिकारवादीहरूले उनलाई पछ्याउन थाले। नासेरीले शरणार्थी मान्यता पाउनुपर्ने पक्षमा आवाज उठ्न थाल्यो। त्यसपछि सन् १९९९ मा उनलाई फ्रान्समै रहन पाउने अधिकारसहित शरणार्थीको मान्यता समेत दिइयो।

तर, त्यसपछि पनि उनी सन् २००६ सम्मै सोही विमानस्थलमै बसे। पछि स्वास्थ्य समस्याका कारण केही सयम अस्पताल बसेका उनी अन्यत्रै बस्न थालेका थिए। पछिल्लो समय अस्पतातबाट निस्केको केही साताअघि मात्र उनी आफू पहिले नै बसेको स्थानमा फर्केका थिए। त्यहीँ नै उनको मृत्यु भयो। उनको मृत्युपछि नासेरीको सम्पत्तिमा हजारौँ युरो भेटिएको फ्रान्सेली अधिकारीहरूले जनाएका छन्।