सडक अनुशासन उल्लंघन गर्ने एक लाख १७ हजारभन्दा बढीलाई कारबाही

चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा भएका सडक अनुशासन उल्लंघनकाे तथ्यांक हाे याे।

फाइल तस्वीर

काठमाडौँ– चालु आर्थिक वर्ष (आव)को अहिलेसम्मको अवधिमा सडक अनुशासन उल्लंघन गर्ने एक लाख १७ हजार चार सय ६८ जनालाई कारबाही गरिएको छ।

सङ्घीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को आज भएको बैठकमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चालु आर्थिक वर्षको हालसम्म सडक अनुशासन उल्लंघन गर्ने एक लाख १७ हजार चार सय ६८ जनालाई कारबाही गरिएको जानकारी दिए। 

उनका अनुसार आव २०७८/७९ मा पाँच लाख चार हजार ५९७ र आव २०७९/८० मा आठ लाख ९५ हजार ६१ लाई कारबाही गरिएको थियो। बैठकमा उपरीक्षक भट्टले एक जना ट्राफिक प्रहरीले एक दशमलव ८७ किलोमिटर सडक क्षेत्रमा करिब एक हजार छ सय ४८ सवारीसाधन व्यवस्थापन गर्नुपरेको जानकारी दिए। 

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्यक्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै पनि निर्णय गर्नुअघि प्राधिकरणसँग समन्वय गर्नुपर्ने निर्णय गरेको छ। प्रमुख शाहले परिषद्ले आफ्नो क्षेत्रभित्रको काम थालेको बताए।

याे पनि: उपत्यकाका सुविधाजनक सडकमै ज्यानमारा लापरबाही

“यसअघि सङ्घीय र प्रदेश सरकार वा यातायात क्षेत्रको नियमन, व्यवस्थापन गर्ने कार्यालयले सञ्चालन गरेका वा निर्णय गरेका कामलाई सार्वजनिक लाभ र दिगोपनाको विश्लेषण गरेर नियमित सञ्चालन गरिनेछ। विगतमा गरिएका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था तथा कार्यान्वयन भएका नीतिको नतिजालाई कार्यक्रम सञ्चालनको आधार बनाउन सकिन्छ”, उनले भने, “ऐनले प्रदान गरेका अधिकारमध्ये ९० प्रतिशत काम पालिकाले नियमित प्रक्रियाबाटै सञ्चालन गर्न सक्नेछन्।”  

बैठकले प्राधिकरणको कोष सञ्चालन सम्बन्धमा छलफल गर्दै सरकारले यातायात व्यवस्थापनका लागि यसअघि गर्दै आएको खर्च कोषमा जम्मा हुने प्रणाली विकास गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।