टी–२० विश्वकप : दोस्रो उपाधिको खोजीमा पाकिस्तान र इङ्ल्यान्ड

पाकिस्तानले ९ र इङ्ल्यान्डले हालसम्म २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा पाकिस्तानले ९ र इङ्ल्यान्डले १७ खेल जितेका छन्।

काठमाडौँ– आईसीसी टी–२० विश्वकप २०२२ को उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड भिड्दै छन्। मेलबर्नमा हुने खेल नेपाली समयअनुसार आइतबार दिउँसो १ः४५ बाट शुरू हुँदैछ।

सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्ड र इङ्ल्यान्डले भारतलाई हराएको थियो। पाकिस्तानले सन् २००९ मा पहिलो पटक टी–२० विश्वकप जितेको थियो। त्यतिबेला युनिस खान टोलीको कप्तान थिए।

सन् २०१० मा इङ्ल्यान्डले पल कलिङवुडको कप्तानीमा पहिलो पटक यो ट्रफी जितेको थियो। दुई टोलीले हालसम्म २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा पाकिस्तानले ९ र इङ्ल्यान्डले १७ खेल जितेका छन्। १ खेल बराबरी र १ नतिजाविहीन छ।

इङ्ल्यान्डको उतारचढावपूर्ण यात्रा
इङ्ल्यान्डको यस सिजनको यात्रा उत्तरचढावपूर्ण रह्यो। विश्वकपअघि इङ्ल्यान्डलाई जितको ठूलो दाबेदार मानिन्थ्यो। तर, समूह चरणमा आयरल्यान्डसँग डक अफ लुइस नियमका आधारमा ५ रनले हारेपछि उसको दाबी कमजोर सावित भएको थियो।

जोस बटलरको कप्तानीमा रहेको टोलीले त्यसपछि उत्कृष्ट खेल्दै न्युजिल्यान्ड र श्रीलंकालाई पराजित गरेर समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुग्यो। सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै आफूमा कुनै पनि टोलीलाई हराउन सक्ने क्षमता छ भन्ने प्रमाणित गरेको छ।

भाग्यमानी पाकिस्तान
समूह चरणको पहिलो खेलमा पाकिस्तान भारतसँग पराजित भएको थियो। दोस्रो खेलमा पनि जिम्बावेसँग १ रनले पराजित भएको पाकिस्तानले त्यसपछि शानदार पुनरागमन गरेको थियो।

तेस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको जित निकाल्यो। अन्तिम खेलमा दक्षिण अफ्रिका जस्तो बलियो टोलीलाई हराएर सेमिफाइल पुग्ने आशा जिवितै राखेको थियो। समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रले पराजित गरेपछि पाकिस्तानको सेमिफाइनल ढोका खुलेको थियो।

पाकिस्तानले अन्तिम खेलमा बंगलादेशलाई ५ विकेटले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। सेमिफाइनलमा बाबर आजमको नेतृत्वमा रहेको यो टोलीले फर्ममा रहेको न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो।

यस खेलबाट बाबर र मोहम्मद रिजवानको ओपनिङ जोडी फेरि फर्ममा फर्किएको थियो। अब यो जोडी इङ्ल्यान्डविरुद्ध खतरनाक साबित हुनु आकलन गरिएको छ। 

पिच रिपोर्ट र मौसम
अस्ट्रेलियाको मौसम विभागका अनुसार यो खेलमा वर्षाको खतरा छ। आइतबार मेलबर्नमा पानी पर्ने सम्भावना १०० प्रतिशत छ। हावाको गति पनि ३५ किलोमिटर प्रतिघन्टाभन्दा बढी हुन सक्छ।

मेलबर्न क्रिकेट मैदानले बलरहरूलाई मद्दत गर्न सक्छ। ब्याट्सम्यानले ठूला सट खेल्न पिचमा समय बिताउनु पर्छ। स्विङले मैदानमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। यो मैदान ठूलो भएकाले एक वा दुई रन बनाउँदै खेल्ने टीमले दबाब सिर्जना गर्ने संभावना छ।