सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

काठमाडौँ– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन गरेको छ।

समितिको शुक्रबारको बैठकले शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति पशुपति शमशेर जबराले जानकारी दिए। 

संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। उनीविरुद्ध एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ भएको हो।

यसैबीच प्रस्तावित न्यायाधीश शर्माले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने बताएका छन्। 

अदालतले तर्जुमा गरेको रणनीतिक योजनामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको सन्तुलन, नियन्त्रणको सिद्धान्तलाई अंगीकार गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउने उनको भनाइ थियो।