पाँचखालका गोविन्द थपलियाले करिब १५० रोपनीमा सञ्चालन गरेको कृषि फर्ममा तरकारी र फलफूलका साथै मासु उत्पादन हुन्छ। यहाँ २०० जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन्।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हेर्यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ। टिठलाग्दो छ, त्यहाँको दृश्य। आँखाभरि आँशु पार्दै मनले नमान्दै परिवारका सदस्यले बिदाइ गरिरहेका हुन्छन्। यो देख्दा लाग्छ, यो देशमा रोजगारीको सम्भावना नै छैन।
तर, नराम्रा दृश्य र अवस्था मात्र छैनन्। गर्नसके देशभित्रै सबथोक छ भन्ने सन्देश काभ्रे पाँचखालका किसानले दिएका छन्। पाँचखाल नगरपालिका बाँस्कोटका गोविन्द थपलियाले १५ वर्षअघि ‘फार्म एग्रो प्रालि’ खोले। प्रहरी सेवामा रहँदा देशविदेश देखेका उनलाई कृषिकर्म गर्ने हुटहुटीले छोयो। त्यसपछि आफ्नै पैत्रिक जमिनको करिब ९० रोपनीमा उनले तरकारी र फलफूल खेती शुरू गरे। उनले काठमाडौँका तारे होटेललाई बजारको ‘टार्गेट’ गरेर कृषि कर्म थालेका थिए।
उनका फार्ममा ‘मिट मेकर प्रालि’ र ‘मिट प्रोसेसिङ एन्ड मार्केटिङ कम्पनी’ हुँदै अहिले ‘फार्म ग्रो ट्रेडिङ प्रालि’ सञ्चालित छन्। मागअनुसार जिउँदा तथा मासु बनाएरै आपूर्ति गरिरहेको थपलियाले सुनाए। अहिले त बजार खोज्न काठमाडौँसम्म आउनुपरेको छैन, बजारले उनलाई खोज्दै पाँचखाल पुगको छ।
थप ५४ रोपनी जमिन लिजमा लिएर पशुपन्क्षी पल्न थालेका उनका फार्ममा तरकारी र फलफूलका अतिरिक्त करिब ३० हजार ब्रोइलर कुखुरासहित बाख्रा, गाई, भैँसी, बंगुर, स्थानीय जातका कुखुरा, टर्की आदि छन्। एकै स्थानमा रहेको करिब १५० रोपनी जमिनमा तरकारी र फलफूलका साथै मासु उत्पादन हुन्छ।
यही फार्मबाट नै काठमाडौँका याक एन्ड यति, होटल र्याडिसन र हायातमा उनकै फार्मबाट तरकारी, फलफूल र मासु आपूर्ति हुँदै आएको छ। अहिले यहाँ २०० जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन्।
यिनै कृषि फार्मबाट वर्षमा ७० करोडभन्दा बढीको कारोबार हुने गरेको थपलिया बताउँछन्। १५ वर्षअघि एक करोडबाट शुरू भएको उन कृषि कर्मको यात्रा अहिले कम्तीमा ४५ करोड रुपैयाँ बराबरमा उक्लिएको छ। त्यसमा २० करोड जति बैंकको ऋण छ। ५७ वर्षीय थपलियाको यो फार्म १५ वर्षे यात्राको क्रममा नै नमुना बनेको छ। यसको अध्ययनका लागि स्वदेश तथा विदेशबाट पनि मानिस आउने गरेका छन्। उहाँको पशुपंक्षी पालनलाई जर्मनीको पशु सेवासम्बन्धी संस्थाले एक सफल कृषक र सफल फार्म भनी संसारका पशुपालकको साइटमा राखेको छ। त्यसको अध्ययन गर्न र थप बुझ्न आउने विदेशी पनि थपिँदैछन्।
“सबैको प्रश्न हुन्छ– काम गर्ने वातावरण कतिको छ? बजारको सुनिश्चितता के छ?,” थपलिया भन्छन्, “यो सबै नकारात्मक बजारको उपज हो। किन भने हामी जताततै सुन्छौँ कि अहिले देशमा गरिखाने वातावरण नै छैन। तर मलाई त्यस्तो छैन। मैले त्यस्ता ठूला चुनौतीको सामना गर्नुपरेको छैन।”
उनको यो आत्मबल नै व्यावसायिक सफलताको जग हो। मानिस आफूले काम थालिहाल्न डराउने र शुरूमै वातावरण नभएको देख्ने गरेको बताउने थपलियाको प्रश्न छ “उद्यम नै शुरू नगरी उद्योगी या व्यवसायी कसरी बन्ने? कामै नथाली सफल कसरी हुने?”
सफलताको सबैभन्दा प्रभावकारी सूत्र मेहनत, स्पष्ट ‘भिजन’ र विश्वास हो भन्छन्, थपलिया। पछिल्लो समय उनको कुखुरापालनबाट स्वदेश मात्र होइन विदेशीले पनि राम्रोसँग सिकेका छन्। ब्रोइलर कुखुरा पालनबाट आम्दानी धेरै भए पनि सबै सफल हुँदैनन्, कुखुराको मृत्युदर तीन/चार प्रतिशतसम्म हुने गर्छ। उनको फार्ममा मृत्युदर एक प्रतिशत छ। हरेक दुई महिनामा एक लट कुखुरा बजारमा पठाउँछन्। वर्षमा छ लटसम्म कुखुरा उत्पादन हुन्छ। अहिलेका ३० हजारको बुकिङ भइसकेको छ अर्को लटको तयारी शरू भएको छ ।
बजारमा अहिले बुंगुरको मासु अभाव छ। तर वर्षमा केही लाख कमाइका लागि नेपालका लाखौँ युवा खाडी पसेका छन्। मानिसले पाँच/सात लाखबाटै बंगुरपालन थाल्ने हो भने यहीँ राम्रो कमाइ छ। “दशैँ आयो खसीको आयात पहिलेभन्दा झन बढेका समाचार आउँछन्। तिहारमा फूल या भाइमसलालगायतका सामग्रीका लागि विदेशमै भर पर्नुपरिरहेको छ,” उनले भने, “यसको सूक्ष्म अध्ययन गरेर देशभित्रै काम गर्ने वातावरणका लागि सरकारले युवा जनशक्तिलाई प्रेरित गर्नुपर्छ।”
सरकारले कृषिमा दिएको अनुदान वास्तविक किसानले नपाएको उनको अनुभव छ। सरकारले किसानलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम नल्याउँदासम्म कृषि क्रान्ति सम्भव नभएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
