आलुको उत्पादन बढेको र तत्काल सबै उत्पादनले बजार नपाउने अवस्था भएकाले चिस्यानगृह भवन निर्माण गरिदिन स्थानीयले सरकारसँग माग गरेका छन्।
बेनी– म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यावसायीक सिमीखेती गरेका छन्। परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए।
छन्त्यालजस्तै यहाँ बसोबास रहेका २१ घरधुरीले नै परम्परागत रूपमा हुने कोदो, मकै, जौ, फापरलगायतका खाद्यबालीलाई छाडेर खायन आलु र घ्यूसिमीको व्यावसायिक खेती शुरू गरेका हुन्। चिसो हावापानी भएकाले खाद्यबाली पाक्नसमेत समय लाग्ने र नगद आम्दानी नहुने भएपछि आयआर्जनका लागि व्यावसायिक आलु र सिमीखेती विस्तार गरेको छन्त्यालको भनाइ छ।
यस गाउँको करिब एक हजार २०० रोपनीमा सिमीखेती गरिएको श्रीकृष्ण कृषि तथा पशुपालन कृषक समूहका सचिव बदेवी छन्त्यालले बताए। आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको छ। आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गरिन्छ।
आलु खनेर बिक्री गरिरहेका स्थानीयको बारीमा सिमी फल्न थालिसकेको छ। बारीभरि थाक्रोमा सिमी लहलह भएका छन्। सिमीको बोटमा कोसा लाग्न थालिसकेको छ। रैथाने खाद्य बाली पाक्न पाँचदेखि छ महिना लाग्ने र त्यसले आयआर्जन नहुने अवस्थामा गाउँमा उत्पादन हुने आलु र सिमी बिक्री गरेर आम्दानी गर्न थालेपछि स्थानीयवासीको आयआर्जनमा सघाउ पुर्याएको छ।
तीन महिनामै बाली पाक्ने र बजारीकरण गरेर नगद आम्दानी गर्न सकिने भएकाले आलु र सिमीखेतीले व्यावसायिकता पाएको कृषक समूहका अध्यक्ष बिना छन्त्यालले सुनाइन्। सदरमुकाम बेनीबाट गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै मंगलेखानीसम्म सडकको पहुँच पुगेकाले यहाँ उत्पादन हुने आलु र सिमी बजारीकरणमा सघाउ पुगेको अध्यक्ष छन्त्यालको भनाइ छ।
“यहाँ आलु पहिलेदेखि नै हुने गर्थ्यो, तर बिक्री भने हुँदैनथ्यो। तर गाउँमा सडक आएपछि गाउँको आलु बेनी, पोखरालगायतका बजारमा पुग्न थालेको छ, सिमी पनि निर्यात हुन थालेको छ,” उनले भनिन्, “कच्ची सडक बाह्रै महिना सञ्चालन हुने बनाउन सकेमा यहाँका धेरै कृषकलाई राहत हुने थियो।”
यो गाउँमा आलुबाट मात्रै वार्षिक ६० लाख रुपैयाँभन्दा बढी नगद भित्रिने गर्छ। यस वर्ष विगतको तुलनामा आलुको उत्पादन बढेको छ। बजारमा माग नबढेका कारण अझै पर्याप्त मात्रामा आलु निर्यात हुन नसकेको स्थानीय कृषक निश्मा छन्त्यालले बताइन्। परीक्षणको रूपमा गरिएको सिमीखेती सफल भएपछि तीन वर्षदेखि समूह नै दर्ता गरेर व्यावसायिक खेतीलाई विस्तार गरिएको उनको भनाइ छ।
“पहिले गाउँको बारीसँगै जंगलका पाखोबारीमा समेत आलुखेती गर्ने चलन थियो, उत्पादन भएको आलुले बेँसीमा अन्न सटही हुन्थ्यो, तर अहिले उन्नत जातको आलु र रैथाने बाली छाडेर सिमीखेती गर्न थालेपछि दुःख पनि कम भएको छ, उत्पादन पनि बढेको छ,” उनले भनिन्।
यस गाउँका हरेक घरले तीनदेखि पाँच टन आलु तथा दुईदेखि आठ मुरीसम्म सिमी उत्पादन गर्छन्। यहाँ उत्पादन भएको सिमी प्रतिपाथी ६०० रुपैयाँमा बिक्री हुने गरेको छ। गत वर्ष रघुगंगा गाउँपालिकाले मंगलेका कृषकलाई अनुदानमा आलुको बीउ, सिँचाइ पाइप, बोरा, रोग कीरा नष्ट गर्ने विषादीलगायत सहयोग गरेको थियो।
गाउँमा आलुको उत्पादन बढेको र तत्काल सबै उत्पादनले बजार नपाउने अवस्था आएकाले स्थानीयवासीले यस क्षेत्रमा चिस्यानगृह भवन निर्माण गर्न माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
