दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा पुराना पुस्ता चिन्तित बनेका छन्।
पाल्पा– घर माइतका क्रममा भोगेका सुखदुःखका अनुभवलाई तीजमा व्यक्त गर्दै मनलाई आनन्दित पार्ने, माइतीमावली कहाँ पुगेर मीठो मसिनो खाने, आफ्ना आफन्तजनसँग भेटघाट गर्ने पर्वका रूपमा तीजलाई लिइन्छ।
परम्परादेखि नै महिलाका वेदना र सुखदुःखको अनुभव एकापसमा साटासाट गर्न तीज पर्व नै पर्खेर बस्ने चलन थियो। वर्ष दिनभरका तीतामीठा अनुभवलाई गीतमार्फत साथीभाइ, आफन्तजनसँग विरह, वेदना तीजका बेला व्यक्त गर्ने र मनलाई हलुका बनाउने चलन थियो। हिजोआज दुःखसुख, जीवन भोगाइका अनुभवभन्दा पनि मनोरञ्जन, नयाँ–नयाँ वस्त्र, खानेकुरामा मोह बढाएको छ। पौराणिक परम्पराभन्दा पनि आधुनिकताले महिलाहरूमा तीज पर्व मनाउने होडबाजी चलेको छ।
गरगहना, महँगो मूल्यका लत्ताकपडा, खानपानमा तडकभडक बढी देखिन थालेको छ। तीज आउनु महिना दिनअगावै गरगहना, महँगा मूल्यका कपडामा सजिएर होटल, रेस्टुरेन्ट र पार्टी प्यालेसमा दरखाने लामबद्ध हुन थालेपछि मौलिकता छाडेर आधुनिकताको पछि लागेको पाल्पा रामपुरकी ज्येष्ठ नागरिक रन्नता वाशिष्ठ बताउँछिन्।
“हाम्रा पालामा मनाइएको तीज र अहिलेको तीजमा धेरै परिवर्तन आयो, तीजको अघिल्लो दिन माइती मावली गएर सबै जम्मा भएर घरको आँगन पिँढीमा लहरै बसेर दर खाने, गाउँभरिका सबै जम्मा भएर नाच्ने गाउने चलन थियो, अहिले त साथीहरू जम्मा भएर होटलमा दर खाएर नाच्ने रमाउने चलन आयो”, उनले भनिन्।
तीजको मौलिक परम्परा र संस्कृति अवलम्बनभन्दा पनि क्षणिक रमाइलो, नयाँ–नयाँ गरगहना, कपडा लगाएर कोभन्दा के कम भन्ने सोचले भड्किलोपन हुँदै गएको ज्येष्ठ नागरिक वाशिष्ठको अनुभव छ। खानपान, लत्ताकपडा, गरगहनादेखि धेरै कुरामा अहिले परिवर्तन हुँदै गएको उनको बुझाइ छ।
नारीका दुःखसुख र वेदनालाई बोल्ने पर्व हरितालिकालाई लिइन्छ। वर्ष दिनभर मनमा संगाल्हेका पीर, वेदना र घरमाइत गर्दाका सुखदुःखका खटनपटनलाई तीजका बेलामा व्यक्त गर्ने, मीठा–मीठा परिकार खाने प्रचलनका रूपमा तीजलाई लिने गरिन्छ। पछिल्ला वर्षमा तीज आउन महिना दिन अघिदेखि नै गाउँ, शहरमा रौनक बढ्दो छ, तर तीजको मौलिकता भने हराउँदै गएको छ।
नागपञ्चमी पर्व शुरू भएपछि गाउँमा पालैपालो सबैका घर–घरमा साँझमा झोरा लगाउने चलन थिए। गाउँ, शहर, गल्ली चोक, घर–घरमा बिरह, ठट्यौली, सुखदुःखका गीत गुन्जन्थे । तीजका गीतमा महिलाले सासू/ससुरा र श्रीमान्को खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे। ती गीतहरू सुनिरहूँ जस्तो लाग्थ्यो। अहिले यस्ता खालका गीतहरू कमै सुन्न पाइन्छ। तीजको रमझम शुरू हुन थालेपछि गाउँमा पालैपालो झोरा लगाउन लालटिन बालेर गएको पुरानो यादले अझै पनि मनमा झस्काउने गरेको रामपुरकै सीता देवकोटाले बताइन्।
“आमा हजुरआमासँग साँझमा घरको कामधन्दा सकाएर गाउँमा तीजको झोरा हेर्न गइन्थ्यो, समाजका यथार्थपरक विषयवस्तुमा गाउने ती गीत सुन्दा आनन्द आउँथ्यो, अहिले त गाउँमा झोरा लगाएर नाच्ने गाउने चलन छैन, घरमै बसेर टिकटक बनाउने, मोबाइल, टीभीमा इन्टरनेटबाट तीज गीत सुन्ने र हेर्ने चलन आयो” उनले भनिन्।
आजभोलि गीत सुन्दा तीजका हुन कि रत्यौलीका छुटाउनै गाह्रो हुन्छ। दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा पुराना पुस्ता चिन्तित बनेका छन्। तीजको रमझम शुरू भएपछि माइत जाने तयारीमा नारीहरू छन् भन्ने बुझाइ हुन्थ्यो। कतिबेला माइतीघरमा पुगिएला र आमाले पकाएको मीठा–मीठा परिकार दरका रूपमा दाजुभाइ बुबाआमा दिदीबहिनीसँगै बसेर खाने, नाच्ने उत्सुकता हुन्थ्यो। अहिले मीठो मसिनो खान माइतीमै जानुपर्छ भन्ने चलन पनि कम हुँदै गएको छ। घरमै सुख सुविधाले पनि मीठो मसिनो खान चाडपर्व नै पर्खनुपर्ने अवस्था नरहेको महिलाहरू बताउँछन्।
पहिला–पहिला तीजका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे। माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेको जस्ता कुरा तीज गीतमा हुन्थे, अहिले संस्कृतिभन्दा मनोरञ्जन भावका गीत बढी छन्।
‘भररर रानीचरी ऐँसेलुको गाँजैमा मलाई सम्झी नरोऊ आमा सम्झी साँझैमा’ (गायिका विमाकुमारी दुरा) घरको कामधन्दा, तीजमा बिदा नपाउँदाका पिडालाई गीतबाटै तीजमा छोरी माइत आइन भनेर सम्झेर नरुन आग्रह गरिएको पाइन्छ।
तीज पर्वको एउटा महत्त्वपूर्ण पक्ष हो झोरा अर्थात् तीज गीत छोरी चेलीले माइतीमा जम्मा भएर आफ्ना दुःखसुख बिसाउनका लागि गीतलाई माध्यम बनाउँछन्। सूचना प्रविधिको विकाससँगै माइतीको घरआँगन, बजारका चोक, खुल्ला चउरमा भेला भएर गाउने गीत, स्टुडियो र युट्युब, टिकटक, फेसबुकमा सीमित बन्न पुगेका छन्।
बजारका खुल्ला चौर, चोक तीजका गीतले गुञ्जायमान बनाउँथ्यो। पछिल्लो समय सूचना प्रविधिको बढ्दो विकासले घरमै टीभी हेर्ने, रेडियोमा गीत सुन्ने मोबाइल, युट्युबले गर्दा बजारमा तीजका गीत गाउन र नाच्न जाने भेटिँदैनन्। तीज गीत प्रतियोगितात्मक कार्यक्रम राखिएका बजारमा जसोतसो दर्शक पुगेका हुन्छन्। तीजलाई नारी अधिकार र स्वतन्त्रताका रूपमा लिइने गरिन्छ। पर्व मनाउने क्रममा समयअनुसार केही परिवर्तन हुँदै गएको छ।
“पहिला महिलाले भोगेका दुःख कष्ट अहिलेको परिस्थितिमा कमै छन्, सुख सुविधाले गर्दा केही कुरा परिमार्जन भएको छ, पुरानो संस्कृतिलाई संरक्षण गरिनु पर्छ, समाजमा तडकभडक नहुने गरी नयाँ कुराको पनि अवलम्बन गर्दै तीज मनाउनुपर्छ”, महिला अधिकारकर्मी विष्णुमाया ढकालले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
