गाउँका विद्यालयमा विद्यार्थी टिकाउने कुरा चुनौतीको विषय बनेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ बताउँछन्।
रामेछाप– रामेछापमा २०७२ सालको विनाशकारी भूकम्पका कारण ४१९ वटा विद्यालयका भवन भत्किएका थिए। तीमध्ये अधिकांश विद्यालयका कच्ची भवन थिए। तर अहिले सञ्चालनमा रहेका केहीबाहेक सबै विद्यालयका पक्की भवन बनेका छन्।
भूकम्पपछि भत्किएका विद्यालय पुनर्निर्माण लागि पुनर्निर्माण प्राधिकरणले जिल्लामा शिक्षा इकाई नै स्थापना गरेर विद्यालय निर्माणको काम अघि बढाएको थियो। पुनर्निर्माण प्राधिकरणको जिल्ला शिक्षा इकाईले २० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत माध्यमिक विद्यालयदेखि आधारभूत तहसम्मका विद्यालयमा पुनर्निर्माण काम अघि बढाएको थियो।
जिल्लामा विद्यालय व्यवस्थापन समितिमार्फत र केही विद्यालय भवन सामाजिक संस्थामार्फत बनाइएका छन्। माध्यमिक तहका ५९ वटा ठूला विद्यालयहरू दातृ निकायको सहयोगमा निर्माण गरिएका छन्। रामेछाप जिल्लामा हाल ९२ वटा माध्यमिक तहका सामुदायिक विद्यालय छन्। तीमध्ये ५० वटा माध्यमिक विद्यालयका सुविधा सम्पन्न ठूला भवनहरू बनेका छन्। नौ वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अन्य विद्यालयमा पनि आवश्यकताअनुसारका भवन बनिसकेका छन्।
जिल्ला शिक्षा समन्वय इकाई रामेछापका प्रमुख भरतबहादुर भट्टराईका अनुसार १४ वटा रेक्ट्रोफिटिङसहित ५९ वटा ठूला भवनहरू निर्माण व्यवसायीमार्फत निर्माण कार्य भएकामा रेक्ट्रोफिटिङका ६ वटा र अन्य तीनबाहेक सबै विद्यालय भवन निर्माण भई विद्यालयलाई हस्तान्तरण भइसकेका छन्। बाँकी नौ वटा भवनको फिनिसिङ लगायतका केही काम बाँकी छन्। उपभोक्ता समिति र सामाजिक संस्थामार्फत बनेका भवन पनि भूकम्प प्रतिरोधी र गुणस्तरीय बनेका छन्।
भवन त बने तर विद्यालयमा विद्यार्थीको संख्या भने दिनदिनै घट्दै गएको छ। “गाउँ–गाउँमा दरबार जस्ता स्कुल बनेका छन्, तर के गर्नु विद्यार्थी छैनन्, गाउँमा स्कुल बनेका छन्, छोराछोरी पढाउन भनेर मानिसहरू शहर पसेका छन्,” मानवअधिकार संरक्षण सञ्जाल रामेछापका अध्यक्ष पाण्डव प्रसाईं भन्छन्।
उनका अनुसार गाउँमा सञ्चालनमा रहेका सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्दा सुविधा सम्पन्न विद्यालय खाली बन्दै गएका छन्। मावि सञ्चालन भएको अधिकांश विद्यालयमा एक सयदेखि १५० को बीचमा विद्यार्थी संख्या रहेको छ।
“एकातिर गाउँका विद्यालय खाली छन्, अर्कोतिर छोरा–छोरी पढाउनका लागि गाउँ छाडेर शहर पस्ने संख्या बढ्दै जाँदा गाउँका जग्गा बाझिने र गाउँ खाली हुने क्रम बढ्दो छ, गाउँमा बुढाबुढी मात्रै छन्,” गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्न कँडेल भन्छन्।
गाउँका विद्यालयमा विद्यार्थी टिकाउने कुरा चुनौतीको विषय बनेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ बताउँछन्। “शिक्षकलाई आफ्नो पढाउने कलाप्रति आफैँलाई विश्वास छैन, आफ्ना छोराछोरी शहरका बोर्डिङमा पढाउने, आफूचाहिँ सामुदायिक विद्यालयमा पढाउने, अनि उनीहरूको पढाइमा कसरी अरूले विश्वास गरून्,” उनले भने।
श्रेष्ठले जति कुरा गरे पनि गुणस्तरीय शिक्षा दिन नसक्नु नै गाउँका विद्यालयमा विद्यार्थी थेग्न नसक्नुको कारण भएको बताए। गुणस्तरीय शिक्षा दिने हो भने गाउँका बच्चा गाउँमा नै बस्ने र बाहिर गएका पनि गाउँकै विद्यालयमा फर्कने उनको भनाइ छ। “अब पूर्वाधारको अभाव छैन, शिक्षकको पनि अभाव छैन, गुणस्तरीय शिक्षाकै अभाव छ, शिक्षकको मिहिनेतको अभाव छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
