आर्थिक रूपान्तरणका लागि देशभित्र र बाहिर रहेका नेपालीको सहभागिता आवश्यक: अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रूपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ सबै पक्ष लाग्नुको विकल्प नभएको बताए।

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक रूपान्तरणको लागि देशभित्र र बाहिर रहेका नेपालीको सहभागिता आवश्यक रहेको औँल्याएका छन्। मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार आएको भन्दै आर्थिक उन्नति हुने सकारात्मक माहौल बनाउन आवश्यक रहेको बताए।

उनले आर्थिक विकासको सकारात्मक माहौल बनाउन आर्थिक गतिविधिमा सबै सामेल हुनुपर्ने उल्लेख गरे। “मुलुकमा समृद्धि ल्याउने कुरामा सबै मिलेर लाग्नुपर्ने छ,” उनले भने, “देश र विदेशमा भएका नेपालीहरू मुलुकको आर्थिक रूपान्तरणमा सहभागी हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ। सरकार सुशासन र लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्न सरकार प्रतिबद्ध छ।”

उनले गणेशमान सिंह पार्कको स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले पार्क निर्माणको बाँकी काममा सरकारको सहयोग रहने बताए।