वर्तमान संविधान नेपालको भविष्यको गोरेटो हो: ओली

संविधान कुनै एक वर्ग, जाति, भूगोल विशेषको मात्र नभएर विदेशमा रहेका सम्पूर्ण नेपालीको समेत साझा गौरवको विषय भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवस नेपाली जनताको साझा उपलब्धि र गौरवको साझा दिवस रहेको बताएका छन्। 

बुधबार काठमाडौँको नक्सालस्थित नारायण चौरमा आयोजित कार्यक्रममा ओलीले वर्तमान संविधान नै नेपाली जनताको भविष्यको गोरेटो भएको उल्लेख गरेका हुन्।  

“हामी यसलाई राष्ट्रिय दिवसको रूपमा मनाइरहेका छौँ। यो सरकारी दिवस होइन यो त सरकारको पनि दिवस हो,आम नेपाली जनताको दिवस हो,” ओलीले भने, “नेपाली जनताको उपलब्धि हो। नेपालको भविष्यको गोरेटो हो, यो संविधान।”  

ओलीले संविधान कुनै एक वर्ग, जाति, भूगोल विशेषको मात्र नभएर विदेशमा रहेका सम्पूर्ण नेपालीको समेत साझा गौरवको विषय भएको बताए। “मेची महाकालीदेखि प्रवासमा जहाँ भए पनि नेपाली जनताको साझा उपलब्धिको साझा दिवस हो। साझा गौरवको साझा दिवस हो। सिंगो राष्ट्रको राष्ट्रिय दिवस हो,” ओलीले भने।

संविधान दिवसको अवसरमा एमालेले नक्सालस्थित नारायण चौरमा आयोजित ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रम आयोजना गरेको छ।