नेपालबाट हस्तकलाका सामग्री ८० देशमा निर्यात

हस्तकला क्षेत्रमा पिछडिएका वर्ग र महिलाहरूको सहभागिता धेरै रहेको छ।

ललितपुर– वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताएका छन्। नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र  समाधान’ छलफल  कार्यक्रमलाई सम्बोधन गर्दै  उनले विदेशमा नेपाली हस्तकलाको माग र पहिचान राम्रो भएकाे बताए।

“हस्तकलामा नेपालको पहिचान, परम्परा र संस्कृति छ। हामीले हाम्रो पहिचान, परम्परा र संस्कृतिको निर्यात गरिरहेका छौँ। नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउने माध्यम हो। हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्छ। यसमा परिवार, कृषक र महिलासँग जोडिएको छ। गाउँ, समुदायमा नै गर्न सम्भव भएकाले यो क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण अंगका रुपमा रहेको छ”, सचिव मरासिनीले भने।

उनले हस्तकला क्षेत्रमा नेपाली कालिगडको अभाव हुनुको कारण खोज्नु आवश्यक रहेको जनाउँदै यसलाई महासङ्घले ध्यान दिएर प्रवर्द्धन गर्नुपर्ने धारणा राखे। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले साना उद्यमी र लघु उद्यमीहरूलाई निर्यात गर्न सक्ने गरी उत्पादन गर्न र रोजगारी सृजना गर्नका लागि माथि उकास्न आवश्यक पर्ने सहुलियत र सुविधा दिनुपर्ने बताए।

“हस्तकला क्षेत्रमा विकासका लागि कसले के गर्ने हो भन्ने खालका नीति तथा रणनीतिहरू तय गरिनुपर्छ। समस्याहरू धेरै छन्, विद्यमान समस्या र समाधानका उपायहरूका विषयमा हस्तकला महासङ्घले शुरू गरेको काम महत्त्वपूर्ण छ, आन्तरिक र बाह्य समस्याहरू के के हुन् भनेर पहिचान गर्नुपर्ने र उद्यमी र व्यापारीहरू छुट्याएर समस्या समाधान गर्न लाग्नुपर्ने अवस्था छ,” निर्देशक राणाले भने।

यस्तै, नेपाल बैंक लिमिटेड कर्जा विभागका वरिष्ठ प्रबन्धक कृष्णबहादुर कार्कीले निकासीसँग सम्बन्धित व्यवसायलाई नेपाल बैंकले प्राथमिकताका साथ लगानी गर्दै आइरहेको बताए। उनले व्यवसायीहरूको व्यापारिक सोचलाई उद्योगमा लैजानका लागि स्टार्टअप बिजनेसदेखि नै सहयोग गर्ने बताए।

‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपायहरू’ विषयक कार्यपत्र प्रस्तुति गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वउपसचिव हिमाल थापाले हस्तकला क्षेत्रमा पिछडिएका वर्ग र महिलाहरूको सहभागिता धेरै रहेको बताउनुभयो। 

उनले निकासी व्यापारमा हस्तकला क्षेत्रको २० प्रतिशत योगदान रहेको तथ्य प्रस्तुत गर्दै ८० मुलुकमा नेपालको हस्तकलाका वस्तुहरू निकासी हुने गरेको बताए। हस्तकला उद्योगको विकास, संरक्षण र प्रवर्द्धन गर्ने छुट्टै निकायको अभाव रहेको पूर्वउपसचिव थापाले प्रस्ट्याए।