वीरगन्ज र रक्सौलबीचको सीमा दशगजामा पर्ने मितेरी पुलमै एसएसबीले सुरक्षा जाँच थालेपछि बुधबार दिउँसो नेपालका स्थानीयले प्रतिवाद गरेका छन्। प्रतिवादपछि एसएसबी १० मिटर पछि सरेको छ।
काठमाडौँ– वीरगन्ज र भारतीय बजार रक्सौलबीचको सीमा दशगजामा पर्ने मितेरी पुलमै भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सुरक्षा जाँच थालेपछि बुधबार दिउँसो तनावको अवस्था बनेको छ। बिहानदेखि एसएसबीले मितेरी पुलमा टेबुल कुर्सी राखेर सुरक्षा जाँच थालेको थियो। दिउँसो नेपालका स्थानीयले प्रतिवाद गरेपछि उनीहरू पछि हटेका थिए।
घटनाबारे सूचना पाएर वीरगन्जस्थित सशस्त्र प्रहरी बलको कार्यालयबाट त्यहाँ पुगेका सशस्त्रका प्रहरी उपरीक्षक कृष्ण कर्माचार्यले एसएसबीले चाडपर्वलाई लक्षित गरी अस्थायी चेक पाेस्ट संचालन गरेको बुझिएको बताए। “हामीले त्यहाँ पुगेर समन्वय गरेका छौँ, एसएसबीले सामान्य चेकजाँचको लागि अस्थायी चेक पाेस्ट राखेको थियो,” कर्माचार्यले उकालोलाई भने, “हामीले त्यो ठाउँ दशगजा क्षेत्र भएको बताएपछि उनीहरू भारतकै भूमिमा बसेर (जाँच) गर्छौं भनेर त्यहाँ राखेको टेबुल कुर्सी करिब १० मिटर पछाडि लगे, कुनै तनावको अवस्था चाहिँ भएन।”
वीरगन्ज–रक्सौल सीमामा पर्ने मितेरी पुल मुनिबाट सिर्सिया नदी बग्छ। नागबेली बगेको सिर्सियाको वारि नेपाल र पारि भारत हो। पहिले त्यही ठाउँमा ‘वेलकम इन नेपाल’ लेखिएको बोर्ड थियो। अहिले पनि नेपालको लायन्स क्लबले पक्की रूपमा बनाएको स्वागत सन्देशसहितको स्तम्भ छ। उक्त स्तम्भ पनि नाघेर एसएसबी नेपालतिर आएर जाँच शुरू गरेपछि विरोधमा उत्रिएको वीरगन्जका एक स्थानीयले बताए। यसअघि मितेरी पुलपारि बसेर एसएसबीले जाँच गर्ने गरेको थियो।
एसएसबीले पूर्वजानकारी दिएर वा समन्वय गरेर त्यहाँ अस्थायी जाँच संचालन नगरेको सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले जानकारी दिए। विशेष अवस्थामा सीमामा जाँच बढाउनु पर्दा सीमावारपार समन्वय गर्नुपर्ने चलन रहेको उनको भनाइ छ। तर एसएसबी आएर बसेको ठाउँ नेपालभित्रै पर्ने यकिन जानकारी आफूलाई नभएको कर्माचार्यले बताए।
वीरगन्जका नागरिक अगुवा महेश दासका अनुसार स्थानीयले मितेरी पुलमा बसेको एसएसबीको टोलीसँग प्रतिवाद गरेपछि एसएसबीका निरीक्षक कुमार शर्माले सुरक्षा सतर्कताका कारण जाँच संचालन गरेको बताएका थिए। उनले यसबाट नेपाललाई सुरक्षा लाभ हुने तर्क गरेका थिए।
दासले दशगजामा कुनै देशको सुरक्षा चौकी राख्न नपाइने र मितेरी पुलमा एसएसबी पहिलोपटक वारि आएको कारण स्थानीयले विरोध गरेको बताए। उनले भने, “नेपाली सुरक्षा अधिकारीहरूले समन्वय गरिहेको जानकारी दिएका छन्, आशा गरौँ फेरि यस्तो नदोहोरियोस्, शान्तिपूर्ण हुनुपर्ने सीमामा यस्तो गर्दा राम्रो सन्देश जाँदैन।”
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रहेका प्रहरी उपरीक्षक कोमल शाहले मितेरी पुलमा अवस्था शान्तिपूर्ण रहेको र आफूहरूले सशस्त्र प्रहरी बलको अगुवाइमा समन्वय गरिरहेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
