संविधान जलाएर काठमाडौँमा प्रदर्शन, १३ जना पक्राउ (तस्वीरसहित)

सरकारले भव्यताका साथ संविधान दिवस मनाउन आह्वान गरे पनि संविधानसँग असन्तुष्टि राख्दै आएका मधेशकेन्द्रित युवाहरूले देशको संघीय राजधानी काठमाडौँमा संविधान जलाएर विरोध गरेका हुन्।

तस्वीर: कृष्पा श्रेष्ठ

काठमाडौँ– काठमाडौँस्थित माइतीघरमा संविधान जलाएर विरोध प्रदर्शन भएको छ। संविधान जलाएपछि प्रहरीले १३ जनालाई पक्राउ गरी अनामनगर प्रहरी वृत्तमा लगेको छ। 

सरकारले भव्यताका साथ संविधान दिवस मनाउन आह्वान गरे पनि संविधानसँग असन्तुष्टि राख्दै आएका मधेशकेन्द्रित युवाहरूले देशको संघीय राजधानी काठमाडौँमा संविधान जलाएर विरोध गरेका हुन्। तराई मधेश राष्ट्रिय परिषद् (टीएमएनसी), युथ एसोसियसन अफ नेपाल (यान) र थरूहट–थारूवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा संविधानको विरोध गर्दै आजको दिनलाई ‘कालो दिन’को संज्ञा दिएका छन्। 

रगतले लत्पतिएको संविधान आफूहरूलाई स्वीकार्य नहुने यानका अध्यक्ष राहुलराज यादवले बताए। “जुन संविधान जनताको लासमाथि चढेर जारी भयो। जसले आम जनताको अधिकार समेट्न सकेन त्यो केही खास वर्गको स्वार्थसिद्धिको दस्तावेज मात्रै हुनसक्छ,” यादवले भने, “त्यसैले आजको दिनलाई खुसियालीको रूपमा मनाउनुको कुनै औचित्य छैन। हामी विगत ८ वर्षदेखि नै कालो दिवसको रुपमा मनाउँदै आएका छौँ। जबसम्म यो संविधान सबै वर्गको अधिकार समेट्ने गरी आउँदैन तबसम्म स्वीकार्य हुँदैन।” 

त्यस्तै टीएमएनसीका उपाध्यक्ष आभास गुरुले संविधानले मधेशको हकअधिकार स्थापित नगरेसम्म संविधान नस्वीकार्ने बताए।