स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म बिहीबारदेखि आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने स्वास्थ्यकर्मीहरूको चेतावनी छ।

महेन्द्रनगर– बिरामीको उपचारमा खटिएका अहेबमाथि कुटपिट भएको भन्दै कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन्।

मंगलबार मध्यरातमा सोही स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्रप्रसाद गैरेमाथि बेलौरी गोकुलपुरका रामबहादुर खड्काले कुटपिट गरेका थिए।

दुर्घटनामा परी घाइते भएका बेलौरीकै बाबुराम चौधरीको उपचारका खटिएका बेला खड्कासहितको समूहले कुटपिट गरेको भन्दै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेका हुन्।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म बिहीबारबाट आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीसमेत दिएका छन्।

नेपाल सीएमए संघ कञ्चनपुरले पनि कर्मचारीलाई कुटपिटमा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेको छ।