विश्व अल्जाइमर्स दिवस मनाइँदै, ६५ वर्षमाथिका ६.५ प्रतिशतमा अल्जाइमर्स

अल्जाइमर्स जसलाई बिर्सिने रोगका रूपमा बुझ्ने गरिन्छ। नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजार व्यक्ति पीडित छन्।

तस्वीर: अल्जाइमर्स एसोसिएसन

काठमाडौँ– विश्व अल्जाइमर्स दिवस बिहीबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको अल्जाइमर्स (बिर्सिने रोग) विस्मृति दिवसको यस वर्षको नारा ‘कहिल्यै धेरै चाँडो पनि हुँदैन, कहिल्यै ढिलो पनि हुँदैन’ रहेको छ।

रोगको पहिचान समयमै गर्ने र यो रोग हुन बढवा दिने मुख्य कारकतत्वलाई समयमै पहिचान गरेर बिर्सिने रोगबाट बच्नका लागि आह्वान गरिएको छ। दिवस सन् १९९४ देखि मनाउन थालिएको हो। अल्जाइमर्स  जसलाई बिर्सिने रोगका रूपमा बुझ्ने गरिन्छ। नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजार व्यक्ति पीडित छन्।

नेपाल पक्षाघात संघका अध्यक्ष एवं ग्रान्डी अस्पतालका वरिष्ठ न्युरोलोजिष्ट डा. राजु पौडेल नेपालमा ६५ वर्षमाथिका ६.५ प्रतिशत व्यक्तिमा बिर्सिने रोग लागेको बताउँछन्। “जति मानिसको उमेर बढ्दै जान्छ, त्यति नै बिर्सिने रोगसमेत बढ्छ,” उनले भने। बिर्सिने रोगीमध्ये ८० प्रतिशतभन्दा बढीमा अल्जाइमर्स हुने उनको भनाइ छ।

विश्वमा हरेक वर्ष एक करोड व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ। विश्वभर हाल छ करोडभन्दा बढी व्यक्तिलाई अल्जाइमर्सको समस्या रहेको डा. पौडेलले बताए। विश्वमा हरेक तीन सेकेन्डमा एक व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार ६५ वर्षदेखि ७५ वर्षसम्मका पाँच प्रतिशत, ७५ वर्षदेखि ८५ वर्षसम्मका १३ प्रतिशत र ८५ वर्ष पार गरेका एक तिहाइ व्यक्तिमा अल्जाइमर्स हुने गरेको छ। विश्वको तथ्यांकलाई हेर्दा विकसित मुलुकभन्दा अल्पविकसित र अविकसित मुलुकमा बढी अल्जाइमर्सका रोगी बढी देखिएको डा. पौडेलको भनाइ छ। 

बिर्सिने रोगीमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन्। अल्जाइमर्सका बिरामी वार्षिक नेपालका प्रत्येक अस्पतालमा १०० भन्दा बढी जाने गरेका छन्। सम्झना शक्तिमा बिस्तारै ह्रास आउने र सामान हराउने वा बिर्सिने, आफू परिचित ठाउँमा पनि हराउने र बाटो बिर्सने/बिराउने, कुनै पनि कामको योजना गर्ने शक्तिमा असक्षमता, पहिले राम्रोसँग गर्नसक्ने कामजस्तै, बोल्ने, लेख्ने, पढ्ने काममा समस्या र व्यक्तित्वमा परिवर्तन विस्मृति अर्थात् बिर्सिने रोगका लक्षण हुन्।

विश्वभर अल्जाइमर्स रोगको पूर्ण रूपमा उपचार नभए पनि यसबाट आउने सम्बन्धित समस्याजस्तै, बेचैनी, डिप्रेसन, शंका गर्ने प्रवृत्तिलाई उपचार गरेर बिरामीको जीवनलाई गुणस्तरीय बनाउन सकिने डा. पौडेल बताउँछन्। 

त्यसैगरी प्रारम्भिक चरणमा यो रोग पहिचान भएमा स्मरणशक्ति सुधार गर्ने, विभिन्न औषधि प्रयोग गरेर बिरामीको स्मरणशक्ति सुधार्न सकिने उनको भनाइ छ।