प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीलाई हाङजाओमा भेट्ने, ल्हासाबाट स्वदेश फर्किने

प्रधानमन्त्री दाहालको चीन भ्रमण टोलीमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालगायत रहनेछन्।

काठमाडौँ– हाल अमेरिकामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ शहर हाङजाओमा आयोजित १९औँ संस्करणको एशियाली खेलकुद प्रतियोगिताको असोज ६ गते हुने उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल अमेरिकाको न्युयोर्कबाट सीधै चीन पुग्न लागेका हुन्।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङजाओमा भेटवार्ता गर्ने छन्। यसअघि प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच दुईपटक भेटवार्ता गर्ने अनुमान गरिएको थियो। तर परराष्ट्रले जारी गरेको तालिकाअनुसार प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच एकपटक मात्र भेटवार्ता हुने छ।   

त्यसपछि प्रधानमन्त्री दाहाल चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने छन्। बेइजिङमा उनले चिनियाँ समकक्षी ली छिन, राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमण एक हप्ता लामो हुने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ।   

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहालले बेइजिङबाहेक चोङकिङ शहर र तिब्बतको ल्हासाको पनि भ्रमण गर्नेछन्। चोङकिङ महानगरले कृषि र उद्योगको क्षेत्रमा गरेको विकास र प्रगतिको उनले अवलोकन गर्नेछन्। असोज १३ गते उनी ल्हासाबाट काठमाडौँ आइपुग्नेछन्।

प्रधानमन्त्री दाहालको चीन भ्रमण टोलीमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ रहनेछन्। प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण चिनियाँ समकक्षी ली छिनको निमन्त्रणामा हुन लागेको हो।