पहुँचवालाले मात्र अवसर पाउने कारण प्रहरीको मनोबल बढ्न सकेन : महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले गर्ने काम कारबाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुने गरी काम गर्नुपर्ने बताएका छन्।

काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले आफ्नो आचरण र व्यवहार सुधार गर्दै लैजानुपर्ने बताएका छन्। उनले नेपाल प्रहरीले गर्ने काम कारबाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुने गरी काम गर्नुपर्ने बताएका हुन्।

बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुँवरले प्रहरीभित्र सरुवा मापदण्डअन्तर्गत पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको पनि उल्लेख गरे।

“प्रहरीभित्र सरुवा मापदण्ड सिनियर अफिसरदेखि कार्यालय सहयोगीसम्मको मापदण्डको त्यहीअनुसारको विधिका गएका छौँ। यहाँ त कस्तो रहेछ भने जसको पहुँच छ, त्यो पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको छ। यो कारणले पनि प्रहरीको मनोबल बढेको छैन,” उनले भने, “अहिले जो ढोका चार्न सक्दैन, जो शक्तिमा हुँदैन जो पहुँचमा सक्दैन ती व्यक्तिहरूले स्थान नपाएको अवस्था छ। यसका लागि प्रहरीले आफ्नो आचरण र व्यवहार सुधार गर्नुपर्छ।”

महानिरीक्षक कुँवरले प्रहरीमा सुन्ने सहनशीलता हुनुपर्ने र बेला बखतमा प्रहरीलाई लाग्ने गरेको आरोपप्रत्यारोप सहन सक्नुपर्ने बताए। उनले सबै कुराहरूलाई स्वीकार गरेर जाने सन्दर्भमा पहिले आफूभित्रको समस्या नै समाधान गर्नुपर्ने बताए। महानिरीक्षक कुँवरले प्रहरी विशुद्ध व्यावसायिक बन्न सक्यो भने आमनागरिकलाई सेवा प्रवाह गर्न सक्ने विश्वास व्यक्त गरे।