अर्थसचिव भन्छन्– अर्थतन्त्रका चुनौती सामना गर्न सकिन्छ

वित्त नीति र मौद्रिक नीतिको समन्वयात्मक कार्यान्वयनबाट अर्थतन्त्रमा सकारात्मक नतिजा प्राप्त गर्न सकिने अर्थसचिव डा. कृष्णहरि पुष्करको भनाइ छ।

काठमाडौँ– नवनियुक्त अर्थसचिव डा. कृष्णहरि पुष्करले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताएका छन्। बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै अर्थसचिव पुष्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास व्यक्त गरे।

“अर्थतन्त्रको विषम परिस्थितिमा धेरै चुनौतीका अगाडि मलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिइएको छ। यो कुरालाई मैले निकै संवेदनशीलताका साथ मनन गरेको छु”, पुष्करले भने, “राज्यका अगाडि देखिएका चुनौती समाधान गर्न सक्ने छौँ भन्ने विश्वास लिएको छु। लडेर–भिडेर जसरी पनि अर्थतन्त्रका चुनौती समाधान गर्नेछौँ।”

अहिले अर्थतन्त्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तवरबाट चुनौतीहरू देखा परेको रहेको उल्लेख गर्दै अर्थसचिव पुष्करले दृढ विश्वासका साथ काम गरे समाधान गर्न सकिने बताए।

“अहिले आर्थिक स्थायित्व कायम गर्ने, राजस्व घाटा कम गर्ने, सार्वजनिक ऋणको व्यवस्थापन लगायतका विषय चुनौतीपूर्ण छन्। पुँजी बजारका विषयमा सबै सरोकारवाला मिलेर चुनौती व्यवस्थापन गर्नुपर्ने अवस्था छ,” उनले भने, “चुनौतीहरू बेलाबेलामा आइरहन्छन्। तिनलाई सम्बोधन गर्दै र व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ।” वित्त नीति र मौद्रिक नीतिको समन्वयात्मक कार्यान्वयनबाट सकारात्मक नतिजा प्राप्त गर्न सकिने उनको भनाइ छ।

पुष्करले यसअघि पनि अर्थ मन्त्रालयमा राजस्व सचिव र अर्थ सचिवका रूपमा काम गरिसकेका छन्। अर्थ मन्त्रालयमा पहिले पनि काम गरिसकेकाले कर्मचारीले आफूलाई पूर्ण सहयोग गर्ने विश्वास लिएको उनको भनाइ छ। अहिलेको बदलिँदो परिप्रेक्ष्यमा विगतमा गरिरहेको भन्दा थप मिहिनेतका साथ काम गर्न पनि उनले कर्मचारीलाई निर्देशन दिएका छन्।

“हामीले नतिजामुखी काम गर्ने भनेको ‘टिमवर्क’ बाट हो । सबै साथीहरूमा काम प्रतिको लगाव छ । त्यसको सम्मान गर्दै थप जाँगरका साथ काम गर्न आग्रह गर्दछु,” उनले भने, “तपाईंहरूले व्यावसायिक, जिम्मेवार र उत्तरदायी भएर कर्तव्य निर्वाह गर्नुहुनेछ भन्नेमा विश्वस्त छु।”