शिक्षकहरूको आन्दोलनका कारण स्थगित भयो संसदीय समितिको बैठक

अर्थ समितिको बिहीबारको बैठकमा समितिको कार्यविधि मस्यौदा र विविध विषयमाथिको छलफल गर्ने कार्यसूची थियो।

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बिहीबारका लागि निर्धारित बैठक स्थगित भएका छन्। 

नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरू समयमै सिंहदरबार पुग्न नसक्दा दुई वटै समितिको बैठक प्रभावित भएको हो। बिहान ११ बजे बोलाइएका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएका हुन्।

अर्थसमितिका सभापति सन्तोष चालिसेले गणपूरक संख्या नपुगेर बैठक स्थगित गरिएको जानकारी बताए। कतिपय सांसद जिल्लाबाहिर पनि रहेकाले सबैको समय मिलाएर छिट्टै अर्को बैठक बोलाइने उनको भनाइ छ। 

अर्थ समितिको बिहीबारको बैठकमा समितिको कार्यविधि मस्यौदा र विविध विषयमाथिको छलफल गर्ने कार्यसूची थियो। समितिमा कुल २४ जना सांसद रहेकामा गणपूरक संख्याका लागि १३ जना सांसद हुनुपर्ने थियो तर ११ जना सांसद मात्र बैठकमा उपस्थित थिए। प्रतिनिधिसभा नियमावलीअनुसार आधा घण्टासम्म गणपूरक संख्या नपुगेमा बैठक स्थगित गर्ने व्यवस्था छ।

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि गणपूरक संख्या नपुगेका कारण स्थगित भएको छ। समितिमा २७ जना सदस्य रहेका छन्। बैठक बस्न १४ जना सांसद उपस्थित हुनुपर्नेमा १२ जना मात्र उपस्थित थिए।