आर्थिक बोझ र संविधानको प्रतिकूल हुनेबाहेक शिक्षकका माग समाधान हुन्छन्: कावा प्रधानमन्त्री

शिक्षकहरूले उठाएका कतिपय माग शिक्षा नियमावलीमार्फत सम्बोधन गर्न सकिने, त्यसलाई छलफल र वार्ताका माध्यमबाट टुंग्याइने कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको भनाइ।

काठमाडौँ– कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्। बिहीबार ललितपुरको सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै उनले देशलाई आर्थिक बोझ हुने र संविधानको प्रतिकूल हुनेबाहेकका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरे।

उनले शिक्षा दिवसका दिनमा पनि शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेको उल्लेख गर्दै भने, “हामीले दुइटा, एउटा वर्तमान अर्थतन्त्रले धान्न नसक्ने आर्थिक बोझ र मुलुकको संविधानले शिक्षाबारे गरेको व्यवस्था प्रतिकूल हुनेबाहेक जे–जे बाँकी छन् समस्याहरू सबै सकारात्मक रूपमा समाधान गर्न सरकार तयार छ।”

उनले शिक्षकका समस्याबारे सरकार गम्भीर भएर वार्ता थालेको जानकारी दिए। उनले शिक्षकहरूले मुलुकको अवस्था र संविधानले गरेको प्रबन्धलाई बुझेको र वार्ताबाट चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे।

वार्तामा बस्न आग्रह गर्दा शिक्षक महासंघका प्रतिनिधिले ‘हामी कर्मचारीहरूसँग वार्तामा बस्दिनौँ’ भनेर जवाफ दिएको उनले बताएका उनले अहिले गृहमन्त्रीको नेतृत्वमा शिक्षकसँग वार्ता थालिएको बताए। “उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आजदेखि शिक्षकहरूसँग वार्ता शुरू भएको छ। शिक्षकहरूको समस्या समाधान हुन्छ। हामीले समस्या समाधान गर्छौं,” उनले भने।

उनले वार्तामा सरकारले गरेको सहमति कार्यान्वयन गरेरै छाड्ने बताए। शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी विषय छलफल र वार्ता गरेर टुंग्याउने उनको भनाइ छ। “शिक्षक महासंघले अहिले राखेका मागमध्ये कतिपय  शिक्षा नियमावलिमा एड्जेस हुने खालका छन्। शिक्षा नियमावलीमा राख्न बाँकी छ। त्यो उहाँहरूसँग वार्ता गरेर यी विषय शिक्षा नियमावलीमा सम्बोधन गर्छौँ भनेर सहमति हुन्छ।”

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन्। नेपाल शिक्षक महासंघ र उपप्रधानमन्त्री श्रेष्ठसहितले बिहीबार बिहान गृह मन्त्रालयमा वार्ता गरे पनि छलफल निष्कर्षमा पुगेको थिएन।