विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह

आफ्ना मागहरू सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रूपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षाप्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगको भनाइ छ।

काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न सरकार तथा आन्दोलनरत पक्षलाई आग्रह गरेको छ। बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पुगेको भन्दै संवेदनशील बन्न दुवै पक्षलाई आग्रह गरेको हो।

आफ्ना मागहरू सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रूपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षाप्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगको भनाइ छ। 

“आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारप्रति सचेत हुन, मानवअधिकारको मूल्य र मान्यताको सम्मान गर्दै आफ्ना मागहरू राख्न, आफ्ना मागहरू पूरा गराउन विद्यालय बन्दबाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुन सक्नेतर्फ सचेत हुन आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ,” आयोगको विज्ञप्तिमा भनिएको छ।

विद्यालयका शिक्षक शिक्षिकाहरूले आफ्नो वृत्त विकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानवअधिकारको मूल्य मान्यता अनुकूल नै हुने भए पनि आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारप्रति सचेत हुन आयोगको आग्रह छ।