साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा रहेको प्राधिकरणको भनाइ छ।

काठमाडौँ– नेपालले चालु चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा ५ अर्ब  ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ। साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको हो।

साउन र भदौमा भारतर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्री दर क्रमशः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ। दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा रहेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्राधिकरणले इन्डियन  इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम ली–एनभीभीएनलाई बिक्री गरिरहेको छ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ। यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताए। “देशभित्र उत्पादित विद्युत् यहीँ खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौँ, विद्युत् नपुगेका ठाउँमा विद्युत् पुर्‍याउनका लागि विद्युतीकरणको कार्य पनि चलिरहेको छ,” कार्यकारी निर्देशक घिसिङले भने। 

खपत गरी बचत भएको विद्युत् निर्यात गर्न दुई देशबीचका अन्तर्देशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्ण रूपमा प्रयोगमा ल्याउन पहल गरिरहेको घिसिङको भनाइ छ।