कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महासमितिबारे छलफल

नेपाली कांग्रेसले मंसिर १३, १४, १५ गते गर्ने भनिएको महासमिति बैठकको तयारी गर्न पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने भएको छ।

काठमाडौँ– नेपाली कांग्रेसले मंसिर १३, १४, १५ गते गर्ने भनिएको महासमिति बैठकको तयारी गर्न पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति मंसिर १३, १४, १५ गते गर्ने निर्णय भएअनुसार महासमितिको बैठकको तयारीबारे विभिन्न प्रस्तावहरू आएको र सभापति देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने निर्णय भएको बताए। 

“बैठकमा तीन वटा प्रस्तावहरू प्रस्तुत भएका छन्। पहिलो नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नीतिगत विषयहरू पारित गर्न बाँकी थियो र त्यो विषयका लागि नीति महाधिवेशन गर्ने भनिएको थियो। साउन २ गतेदेखि १० गतेसम्म बसेको बैठकले नीति महाधिवेशनको सट्टामा महासमितिको बैठकबाट नै नीति पास गर्ने निर्णय भएको थियो,” उनले भने, “महासमिति मंसिर १३, १४, १५ गते गर्ने निर्णय भएअनुसार महासमितिको बैठकको तयारीका बारेमा विभिन्न प्रस्तावहरू आए र सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने भन्ने छ। सोहीअनुसार प्रस्ताव तयार गर्नका लागि उपसभापति तथा नीति प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा नीति मस्यौदा तयारी समिति बन्ने छ।” 

त्यस्तै बैठकमा सांगठानिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्ने उनले बताए। बिहीबारको बैठकमा थापाले नै पार्टीका समग्र कार्यक्रमको समीक्षा प्रस्तुत गरेको र जनसरोकारका विषयमा उपसभापति खड्काले जानकारी गराएको उनले बताए। बिहीबारको बैठकमा एक दर्जनभन्दा बढी सदस्यले आफ्नो धारणा राखेको र बैठक शुक्रबार ११ बजेको लागि तय भएको उनले जानकारी दिए।