आन्दोलनरत शिक्षक र सरकारबीच शुक्रबार बिहान पुनः वार्ता हुने

आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच शुक्रबार बिहान पुन: वार्ता हुने भएको छ।

काठमाडौँ– शुक्रबार बिहान पुनः छलफलमा बस्ने गरी आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीचको वार्ता सकिएको छ।

बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्ता पुनः शुक्रबार बिहान ९ बजे बस्ने गरी टुंगिएको हो। शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार शुक्रबार बिहान पुनः छलफल गर्ने गरी वार्ता टुंगिएको हो।

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका साथै सम्बन्धित मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। आन्दोलनरत शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायत शिक्षक संगठनका प्रतिनिधिहरू सहभागी थिए।

बिहीबार बिहान पनि सरकार र शिक्षकबीच भएको वार्ता भएको थियो। उक्त वार्ता पनि निष्कर्षविहीन टुंगिएको थियो। सरकारले प्रतिनिधिसभामा दर्ता गरे विद्यालय शिक्षा विधेयकमा समेटिएका  प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन गर्दै आएका छन्।