मूर्ति विसर्जनका क्रममा झडप भएपछि मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा

बिहीबार गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएको थियो। झडपमा आधा दर्जन घाइते भएका छन्। 

मलंगवा– सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। 

मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार राति १० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। 

मलंगवा–३ मा दुई समुदायबीच विवाद भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोस्ट/बाबा पेट्रोलपम्म) मा आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरू कुनै प्रकारको गतिविधि गर्न नपाइने यादवले बताए।

कर्फ्यु आदेशपछि मलंगवाको स्थिति सामान्य रहेको एसपी नरेशराज सुवेदीले जानकारी दिए।

बिहीबार गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएको थियो। झडपमा आधा दर्जन घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्याँस प्रहार गरेको थियो। 

डेढ साताअघि पनि दुई समुदायबीच झडपले उग्र रूप लिएपछि मलंगवामा कर्फ्यु लगाइएको थियो।