रहेनन् गणतन्त्रवादी नेता खेमराज भट्ट

२०४२ सालको बम काण्डपछि तत्कालीन सरकारले सम्पत्ति सर्वस्वहरण गरेपछि भट्टले १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए। 

काठमाडौँ– पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ।

क्यान्सरबाट पीडित ७६ वर्षीय भट्टको बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ छविलाल भट्टले जानकारी दिए। 

२००४ सालमा डडेलधुराको डुंगुरीमा जन्मिएका उनले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरू गरेका थिए। पछि रामराजाप्रसाद सिंहसँगै रहेर गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिए। 

२०४२ सालको बम काण्डपछि तत्कालीन सरकारले सम्पत्ति सर्वस्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए। 

गणतन्त्रवादी नेताका रूपमा परिचित भट्ट २०५६ सालमा बर्दिया–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

त्यसपछि २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सामान्य प्रशासनमन्त्री भएका थिए।

भट्टको शुक्रबार नै पशुपति आर्यघाट अन्त्येष्टि गरिने छ। उनका दुई छोरा छन्।