नेपालको परराष्ट्र नीतिमा साझा सहमति गरौँ: माधव नेपाल

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले दलहरूबीच आन्तरिक द्वन्द्व भए पनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने धारणा राखेका छन्।

काठमाडौँ– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति हुनुपर्ने बताएका छन्। 

शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले दलहरूबीच आन्तरिक द्वन्द्व भए पनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने धारणा राखेका हुन्।

“हामीले दुई वटा दस्ताबेज पास गरेका थियौँ। एउटा परराष्ट्र नीतिको बारेमा थियो। त्यसलाई पुनः हेर्नुपर्ने छ भने हेरौँ,” उनले भने, “सबै पार्टीबीच साझा सहमति बनाएर राष्ट्रिय प्रतिबद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्छ।” 

राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि साझा सहमति बनाउनुपर्ने अध्यक्ष नेपालको जोड छ। “भारतमा भित्र आन्तरिक द्वन्द्व हुन्छ तर परराष्ट्र नीतिमा एक हुन्छन्। त्यस्तै स्थिति नेपालमा सिर्जना गर्नुपर्छ,” उनले भने, “राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि हामीले अघि बढाउनुपर्छ। म प्रधानमन्त्री भएको बेलामा तयार भएको थियो। त्यसमा पनि राष्ट्रिय सहमति बनाऔँ।”

बैठकमा कांग्रेस सांसद बिमलेन्द्र निधीले पनि परराष्ट्र नीति साझा सहमति हुन आवश्यक रहेकोमा जोड दिए। “परराष्ट्र नीति सबैभन्दा सेन्सेटिभ विषय हो। हामी पनि समिति पनि यो विषयमा अपडेट हुनुपर्छ। यो समितिमा नियमित छलफल हुनुपर्छ,” उनले भने। 

एमाले सांसद दामोदर पौडेलले परराष्ट्र नीतिको बारेमा सबै प्रस्ट हुनुपर्ने बताए। युक्रेन–रुस युद्धताका नेपालले लिएको निर्णयलाई लिएर विभिन्न आशंका उब्जिएको भन्दै त्यसको लागि पनि साझा सहमतिमा परराष्ट्र नीति बन्नुपर्ने उनको भनाइ छ।