सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा

पक्राउ परेका अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जनालाई अहिले सिंहदरबार वृत्तमा लगिएको प्रहरीले जनाएको छ।

काठमाडौँ– सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार दिउँसो सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जनालाई अहिले सिंहदरबार वृत्तमा लगिएको छ। 

शिक्षक आन्दोलनका क्रममा निषेधित क्षेत्र तोड्दै सिंहदरबार प्रवेश गर्ने प्रयास गरेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि प्रहरी र आन्दोलनकारीबीच केहीबेर धकेला धकेलसमे‍त भएको थियो।