‘पहिले समाजमा एक जना पात्रमाथि विभेद हुन्थ्यो। अहिले सामाजिक सञ्जालमार्फत विश्वभरि प्रचार हुन्छ। विभेदको नयाँ स्वरूप देख्न सकिन्छ। हामी जति आधुनिकतातिर गइराखेको भए पनि प्रवृत्ति सुधार भएको छैन।’
राजन मुकारुङको उपन्यास ‘दमिनी भीर’ले २०६९ सालमा मदन पुरस्कार पाएको थियो। उक्त उपन्यासको आधारमा जातीय विभेदलाई मूल विषय बनाएर बनाइएको नाटक ‘दमिनी भीर’ काठमाडौँस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको छ। भदौ २२ देखि असोज १० गतेसम्म प्रदर्शन हुने नाटकमा भावना उप्रेती, सुजाता गुरुङ, कवि राई, आकाश नेपाली, सुजु सुनुवार किराती, शायोक मुकारुङ, किरण चाम्लिङ राईलगायत कलाकारले अभिनय गरेका छन्। यो नाटकले उठाएको विषय र सान्दर्भिकताबारे निर्देशक इँगिहोपो कोइचँ सुनुवारसँग उकालोका लागि प्रबिता श्रेष्ठले गरेको कुराकानीः
एक दशकअघि लेखिएको उपन्यास ‘दमिनी भीर’लाई अहिले नाटकको रूपमा देखाउनुपर्ने आवश्यकता किन भयो?
समय मात्रै परिवर्तन भयो, मुद्दा उही छ। सवाल उही छ। समस्या उही छ। उपन्यासले उठाएका सवालमा परिवर्तन कति भयो त? कति रुपान्तरण भयो? जुन हक अधिकारका सवालमा आन्दोलनहरू भए, अहिले पनि ती सवाल उस्तै छन्। आजको दिनमा पनि जातको नाममा मान्छेहरू मारिनु परिरहेको छ। विभेद खेपिरहनुपरेकोे छ। केही पनि परिवर्तन भएको छैन। हाम्रो समाज वा कुनै निकायलाइ हरेकपटक किन झक्झक्याइ राख्नुपर्ने? सामाजिक प्राणी भनिएको मान्छे चेतविहीन भैराखेको हो कि भन्ने अवस्थामा पुगेको कारण दमिनी भीरलाई नाटक बनाउनुपरेको हो।
पहिले समाजमा एक जना पात्रमाथि विभेद हुन्थ्यो। अहिले सामाजिक सञ्जालमार्फत विश्वभरि प्रचार हुन्छ। विभेदको नयाँ स्वरूप देख्न सकिन्छ। त्यसको उदाहरण रुकुममा हत्या गरिएका नवराज विक हुन्। हामी जति आधुनिकतातिर गइराखेको भए पनि प्रवृत्ति सुधार भएको छैन। शिक्षाको विकास र उन्नति भइरहँदा विभेद चाहिँ जस्ताको त्यस्तै किन छ त? जबसम्म चेतना फेरिँदैन तबसम्म विभेद हट्दैन भन्ने देखाउने हाम्रो प्रयत्न हो।
यो समयमा पनि विभेदकै विषय उठाउनुपर्ने अवस्था कसरी आयो त?
जब मान्छेले मान्छे जसरी बाँच्न पाँउदैन भने, हामीले अरू विषय उठाएर के काम? विभेदको कुरालाई जातसँग भन्दा पनि मान्छेको चेतनाको स्तरसँग हेर्नुपर्छ। हामीले पाउने अधिकार, समानताको कुरा र पहिलेदेखि उठिरहेका मुद्दालाई समेट्ने प्रयास गरेका छौँ। समाजमा बस्ने जोसुकै मान्छेले पनि समान रूपमा बाँच्न पाउनुपर्छ, कुनै जात वर्ग वा लिंगको नाममा हेपिन नपरोस्, स्वतन्त्र रूपमा खुशीसाथ बाँच्न पाइयो भने समाज आफैँमा राम्रो हुन्छ। नाटकले यही सन्देश दिएको छ।
हिन्दू सम्प्रदायमा जातीय विभेद धेरै देखिन्छ। तर नाटकमा देखाइएको पूर्वी किराँती समाजमा पनि त्यही स्तरको विभेद देखाइएको छ। यसले विषय र मुद्दालाई ठीक ढंगले बुझाउन सक्छ?
समाज शुरूदेखि नै कसरी निर्माण भयो भन्ने कुरा आउँछ। जब मान्छे शक्तिमा हुन्छ, उसले त्यो प्रतिष्ठा, साख जोगाउन आफूभन्दा तल एउटा वर्ग बनाउँछ। हामीले उठाउन खोजेको विषय साम्प्रदायिक वा समुदायभन्दा पनि वर्गको हो। आफू शक्तिमा रहिरहन कसैलाई दबाउने विषय नाटकमा छ। कथित तल्लो वर्ग बनाएर दलित भनियो र कमजोर बनाइयो। कथित उपल्लो जाति भनिनेले ‘तिमीहरूभन्दा हामी माथि हो’ भनेर जसरी आफूलाई शक्तिमा राखे, त्यसैले गर्दा विभेद कायम भयो। यो चाहिँ जातबाट मात्रै नभएर शक्तिको कोणबाट पनि हेरियो।
दलित युवतीलाई बलात्कार गर्ने र सन्तान स्वीकार नगरी अलपत्र पार्ने पात्रले नाटकको अन्तिममा माफी मागेका छन्। अहिले नेपाली समाज जातीय विभेदका घटनामा माफी माग्ने तहसम्म पुगेको छ र?
समाज त्यो तहमा नपुगेको भएर नै यो नाटक गरिएको हो। अहिले पनि जो शक्तिमा छ, उसले आफ्ना गल्ती कहिल्यै नसुधार्ने। हाम्रो घरबाटै पनि सानोसानो गल्ती स्विकार्न सिकाइँदैन। जसरी हामीलाई परिवारबाटै गल्ती लुकाउन सिकाइएको छ, त्यहीबाटै समस्या शुरू हुन्छ।
हाम्रो घरको अवस्थाजस्तै छ समाज। ठूलो मान्छेले भनेको कुरा गलत भए पनि सही बनाइन्छ। सानो मान्छेले गरेको सही कुरा पनि गलत बनाइन्छ। घटना हुनु र माफी माग्नु ठूलो कुरा होइन, घटना हुन नै नदिनु मुख्य कुरा हो। एउटा सानो गल्तीले गर्दा मान्छेले कतिसम्म भोग्नुपर्छ सबैले बुझोस्। उपन्यासमा पनि आमाले आफ्ना छोराको गल्ती ढाकछोप गर्न उल्टै दलित परिवारलाई धम्क्याउने र नगरेको गल्ती स्विकार्न लगाउने गरेको छ। त्यो नगरेर आफ्नो छोराको गल्ती स्वीकार गरेको भए वा दुवै जनालाई सँगै राखेर छिनोफाने गरेको भए, त्यो पात्रले दुःख पाउँदैनथ्यो।
साहित्यका विभिन्न विधा, जस्तो– नाटक, कथा, कविता आदिबाट सामाजिक न्यायसम्बन्धी चेतना फैलाउने अभियानले समाज परिवर्तन हुनसक्छ?
पहिलो कुरा त, जसले नाटक गर्दै छ, वा कलाको माध्यमबाट विषय उठान गर्दैछ, ऊ आफूमा चाहिँ सुधार भयो कि भएन मुख्य कुरा हो। त्यसपछि नाटक गर्ने पात्रहरूले आफूलाई त्यहीअनुरूप प्रस्तुत गर्न सक्नुपर्छ। हामीले समाज परिवर्तनबारे दिएको सूचना फैलाउन आफू पनि लाग्नुपर्छ। नाटक हेर्ने दर्शक पनि त्यो सन्देश लिएर समाजमा जाँदा पक्कै मान्छेहरूले मनन गर्ने छन्।
अहिलेको नाटक बजार कस्तो छ? नाटक मञ्चन गरेर आर्थिक रूपमा सबल हुन सकिन्छ?
पहिलो त, दर्शकले नाटक मन पराइदिनुपर्छ। हामीले गरेको नाटकका लेखक मदन पुरस्कार विजेता भएको हुनाले पनि हामीलाई धेरै सहयोग मिलेको छ। नाटकको राम्रा प्रतिक्रियाहरू आइराखेका छन्। नाटकमा जोडिएका किरण चाम्लिङ राई, सिता राई, पुनम थापालगायत कलाकारहरूको कामको प्रभावले गर्दा पनि प्रतिक्रिया राम्रो आइरहेको छ। हामीले गर्ने प्रचारप्रसारले पनि दर्शक कति धेरै आउँछन् भन्ने निर्धारण गर्छ। खान, बस्न, हल बुकिङ, र प्रचारप्रसारमा धेरै रकम खर्च हुन्छ। तर दर्शकको उपस्थिति राम्रै भयो भने त खर्च धान्न गाह्रो हुँदैन। नाटकले खर्च सबै उठाउँछ भन्नेमा विश्वस्त छौँ।
उपन्यासलाई नाटकमा परिणत गर्दा कति समय लाग्यो? तयारी कस्तो रह्यो?
हामीले यो नाटकको रियल्सल २८ दिन गर्यौँ। समय कम भएको कारण हतारमै गर्नुपर्यो। नाट्य रुपान्तरण, रियल्सलदेखि मञ्चनसम्म आइपुग्न ४५ दिन लाग्यो। नाटक तयारी गर्दा १२ देखि १३ लाख रुपैयाँ खर्च लाग्छ। तर कलाकारको खर्च चाहिँ आम्दानीअनुसार कति दिने भन्ने तय हुन्छ।
तपाईंको निर्देशनमा बनेको यो पहिलो नाटक हो। निर्देशनको पहिलो अनुभव कस्तो रह्यो?
अलिक बढी प्रेसर अनुभव भयो, किनभने पूरै टिमलाई लिड गरेर लैजानुपर्ने हुन्छ। कथा भन्नेदेखि सबै कुराको व्यवस्थापन गर्न गाह्रो नै भयो। धेरै कुराहरू सिक्ने मौका पाइयो। मेरो लागि यो टिमसँगको अनुभव अमूल्य भयो। समग्रमा अर्थपूर्ण रह्यो र मैले धेरै कुरा अझै सिक्नु छ भन्ने थाहा भयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
