माधव नेपालको प्रश्न– पालिकाहरूले माध्यमिक तहसम्म शिक्षाको जिम्मेवारी पूरा गर्न सक्छन्?

एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले स्थानीय तहले शिक्षण संस्थाको उन्नति र प्रगतिभन्दा आफ्ना मान्छेलाई नियुक्त गर्न मात्रै प्रयोग गर्ने हुन् कि भन्ने प्रश्न उठिरहेको बताए।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शिक्षकका जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्। शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आन्दोलनरत शिक्षकहरूको उपयुक्त र जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने बताएका हुन्। 

उनले संविधानले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको भन्दै पालिकाहरूले सो जिम्मेवारी पूरा गर्न सक्छन् भन्दै प्रश्न गरे। उनले स्थानीय तहले शिक्षण संस्थाको उन्नति र प्रगतिभन्दा आफ्ना मान्छेलाई नियुक्त गर्न मात्रै प्रयोग गर्ने हो कि भन्ने आशंकाका कारण प्रश्न उठिरहेको बताए।

“शिक्षकहरू आन्दोलित छन्। उनीहरूलाई स्थानीय तहको मातहतमा, माध्यमिक तहको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ। माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी के स्थानीय तहले पूरा गर्न सक्छन्? के त्यसले समष्टिगत पक्ष सोच्न सक्छ? कि उसले स्कुलमा आफ्नो मान्छेलाई कसरी भर्ना गर्ने? आफ्ना नजिकका मान्छेलाई पढोस्, नपढोस्, पढाओस्, नपढाओस्, त्यहाँ भर्ना गर्ने र शिक्षण संस्थाको उन्नति र प्रगतिभन्दा पनि त्यसलाई कसरी उपयोग गर्ने भन्ने कुरामा मात्रै सीमित रहने कुराहरू पनि सोच्न सक्ने स्थिति बन्छ,” उनले भने।

अध्यक्ष नेपालले संविधानले दिएको अधिकारलाई अहिले नै परिवर्तन गर्न नसकिने पनि तर्क गरे। वार्ता र छलफलबाट तत्कालै सम्बोधन गर्न सकिने कुराहरूलाई सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो।

उनले देशमा संकटको बादल मडारिएको बताए। उनले गठबन्धनमा आबद्ध पार्टी र नेताहरू अनुभवी रहेका भन्दै नेताहरू एक ठाउँमा बसेर छलफल गरेमा समस्यामा समाधान निकाल्न सक्ने जिकिर गरे। उनले देशको समस्याको समाधान सबैभन्दा बढी कम्युनिस्ट पार्टीले मात्र दिन सक्ने उल्लेख गरे। कम्युनिस्ट पार्टीसँग वैज्ञानिक दृष्टिकोण भएको कारण समस्याको समाधान गर्न सक्ने उनको भनाइ छ।

उनले देशलाई समृद्ध बनाउनका लागि पर्यटन प्रवर्द्धनमा जोड दिए। त्यसैगरी, नेपाली उद्योगी, व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उनले बताए।