मुलुकमा धार्मिक द्वन्द्व फैलाउन खोजे कारबाही हुन्छ: गृहमन्त्री

एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना या घृणा फैलाउने खालको अभिव्यक्तिहरू देखा परेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढ्ने मन्त्री श्रेष्ठको भनाइ थियो।

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय एकता कायम गर्न सबै धार्मिक संघसंस्थाहरूलाई अपिल गरेका छन्। 

व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर नहुने भएकाले विविधतासहितको सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न धार्मिक संघसंस्थाहरूले पनि पहल गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए। 

एक धार्मिक समुदायका मानिसले अर्को समुदायमाथि आक्रमण गरिरहेका बेला उनले विविधताबीचको एकता, सहिष्णुता र सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ पार्ने काममा सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन आग्रह गरे। 

शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विभिन्न धार्मिक संघ, संस्थाका प्रतिनिधिहरूलाई बोलाएर उनले मुलुकमा नियोजित रूपमा धार्मिक समुदायबीच भिडाउने प्रयास गरे जो कोहीलाई पनि सरकारले नियन्त्रणमा लिने चेतावनी दिए। एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना या घृणा फैलाउने खालको अभिव्यक्तिहरू देखा परेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढ्ने मन्त्री श्रेष्ठको भनाइ थियो।

“विभिन्न संगठनहरूको नाममा आएका छन्, पर्चा आएका छन्। एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्तिहरू देखा परेका छन्। त्यो जोसुकै भए पनि सम्झाएर, बुझाएर हामीले रोक्नुपर्छ। र, त्यसरी हामी एकताबद्ध भएर यो अभियान चाल्दा खेरी त्यो रोकिन्छ। तर, त्यतिखेर पनि नियोजित रूपमा कहीँकतैबाट तपाईंहरूले यहाँ संकेत गरेजस्तै त्यस प्रकारका गतिविधि गर्न खोजिएको हो भने हामी प्रशासनिक रूपमा पनि दृढतापूर्वक अघि बढ्छौँ,” उनले भने।

मन्त्री श्रेष्ठले सरकारले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधिलाई सम्झाएर नियन्त्रणमा लिन चाहेको पनि दोहोर्‍याए।