सरकारले अपराधको राजनीतिकरण गरिरहेको ओलीको टिप्पणी

एमाले अध्यक्ष केपी शर्मा ओलीले राज्यले विकास, गरिबी निवारणलगायतका विषयमा ध्यान नै नदिएको बताएका छन्।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिरहेको बताएका हुन्। 

शुक्रबार पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले अपराध कर्ममा लागेकाहरूको मुद्दा फिर्ता लिएको भन्दै आक्रोशसमेत व्यक्त गरे।

“सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिराखेको छ। अपराधी जेलमा बस्नु पर्दैन। प्रोफेसरको ढाँड भाँचिदियो भने मुद्दा फिर्ता लिन्छ। प्रोफेसरको जिन्दगी बरबाद भइराखेको छ। एउटा ‘क्रिमिनल’को मुद्दा नचलाउन खोज्छ। दबाब दिएर चलायो भने फिर्ता लिन्छ,” उनले भनिन्।

राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार गरेको उनको टिप्पणी थियो। “राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ। सरकारले जे लग्यो, त्यो बडो खुशीका साथ स्विकार्नु हुन्छ,” उनले भने, “अब यो स्थितिमा अब राज्यको ग्र्याजुएसन, विकास, गरिबी निवारणलगायतका कुराहरूमा ध्यानै छैन।”

सरकारको ध्यान शान्तिप्रक्रियालाई टुंग्याउनेभन्दा पनि हिंसालाई उत्सवको रूपमा मनाउनेतिर रहेको दोहोर्‍याए। फागुन १ गते माओवादी विद्रोहको शुरू भएको दिनलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय स्मरण गराउँदै उनले सरकारले हिंसालाई उत्सवको रूपमा मनाएर शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउने उल्टो बाटो लिएको बताए।