आलुले बजार र मूल्य नपाउँदा मर्कामा किसान, लागतसमेत नउठ्ने चिन्ता

बागलुङका निसेलढोर, ढोरपाटन, तमानखोलाको लाम्मेला, ताराखोला लगायत गाउँ  आलु उत्पादनका हिसाबले प्रख्यात मानिन्छन्। तर, उनीहरूको उत्पादनले बजार भने पाउन सकेको छैन। 

ढोरपाटन– निसेलढोर र ढोरपाटन क्षेत्रका किसान आलु भ्यिाउने चटारोमा छन्। गत भदौ दोस्रो सातादेखि आलु थन्क्याउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ। तर, उत्पादित आलुले भने उचित बजार नपाएको उनीहरूको गुनासो छ। 

भौगोलिक विकटताका कारण ओझेलमा परेको ढोरपाटन र निसेलढोर क्षेत्रको हजारौँ रोपनी क्षेत्रफलमा किसानले आलु लगाउँदै आएका छन्। पाँच वर्ष अगाडिसम्म ढुवानीको समस्या खेप्दै आएका किसान अहिले मूल्य नपाएको दुखेसो पोख्छन्।

एक दशक अगाडिसम्म ढोरपाटन सडक सञ्जालले जोडिएको थिएन। सडक नजोडिँदा कतिपय किसानले घोडा खच्चडमा ढुवानी गरी बजारसम्म पुर्‍याउँथे भने कतिपयले मजदुर लगाएर बोकेरै बिक्रीका लागि बेसी झर्ने गर्थे। तर अहिले त्यो परिस्थिति छैन। सडकले यस क्षेत्र जोडिनु पूर्व किसानले उत्पादन गरेको आलु घोडा खच्चडमार्फत बेसीका गाउँमा ल्याइ मकै, धान, गहुँ र मकैसँग साट्ने गर्थे। अहिले पनि यो चलन कायमै छ।

निसेलढोरसम्म नै मोटरबाटो पुगेपछि आलु ढुवानीमा केही सहजता भने भएको छ। तर बाह्रै महिना सडक नचल्दा त्यसबाट कृषीले ठूलो नोक्सानी बेहोर्न बाध्य छन्। यति बेला आलु खन्ने, गोदाममा थन्क्याउने र बजारका लैजानका लागि तयार गर्ने काममा उनीहरू व्यस्त छन्।

बागलुङ जिल्लालाई पुग्ने आलु उत्पादन यस क्षेत्रमा उत्पादन भए पनि भारतबाट आएको आलुका कारण स्थानीय उत्पादनले बजार पाउन सकेको छैन। घण्टौँ लगाएर बजारमा ल्याएको आलुले कम मूल्य पाउँदा किसान मर्कामा पर्ने गरेका छन्। भारतीय बजारबाट आयातित आलुको मूल्यले ठूलो मर्कामा पर्ने गरेको स्थानीय कृषक शेरबहादुर विकले बताए। पहिले–पहिले मकै र कोदोसँग आलु साट्दा केही फाइदा हुने भन्दै अहिले बजारमा बिक्री गर्दा घाटा मात्रै बेहोर्नु परेको विकले गुनासो गरे। 

“बजारमा बुटवल, सुनौलीबाट आएका आलु छ्यापछ्याप्ती छन्, त्यो आलुलाई व्यापारीले ४० रुपैयाँदेखि ६० रुपैयाँसम्म बेच्छन्, हामीलाई ४० मा माग्छन्, यसरी त हाम्रो वर्षभरिको दुःख पनि उठ्दैन,” उनले भने, “ढोरपाटनबाट ढुवानी गरेर बुर्तिबाङ ल्याउँदा पनि हजारौँ रुपैयाँ खर्च भएको हुन्छ, यो व्यवस्था सरकारले मिलाउन सके केही राहत मिल्ने थियो।”

जिल्लामा आलु उत्पादनका हिसाबले प्रख्यात मानिने निसेलढोर, ढोरपाटन, तमानखोलाको लाम्मेला, ताराखोला लगायतका क्षेत्रमा किसानले लाखौँको आलु उत्पादन गर्दै आएका छन्। स्थानीय तुलबहादुर घर्ती मगरले वर्षेनी करिब सात लाखको आलु उत्पादन गरे पनि सबै बिक्री गर्न नसकेको गुनासो गरे। गाउँसम्म भारतको आलु आउने हुँदा बिक्री गर्न समस्या भएको उनको भनाइ छ। 

बाहिरबाट आएको आलु देख्दा राम्रो र किन्दा सस्तो पर्ने हुँदा उपभोक्ताले गाउँमा उत्पादन भएको भन्दा आयातित आलु किन्ने गरेको उनको भनाइ छ। तर त्यो आलुभन्दा गाउँमा उत्पादन भएको आलु स्वास्थ्यका लागि फाइदाजनक हुने घर्ती मगरले बताए। स्थानीय सरकारले बाहिरबाट आउने आलुलाई प्रतिबन्ध नलगाउँदासम्म स्थानीय आलुले बजार नपाउने उहाँको भनाइ छ। 

“आलुले बजार पाउने हो भने हाम्रो क्षेत्रका किसान कहिल्यै पनि गरिब हुनुपर्ने थिएन, हरेक वर्ष सामान्य किसानले पनि दुईदेखि १५ लाख बढीको आलु उत्पादन गर्छ, उसले बच्ने भनेको उही पाँच–सात लाखको हो,” उनले भने, “वर्षभरी दुःख गरेर आलु उत्पादन गर्छ, त्यही पनि समयमै बिक्दैन।”

यस वर्ष निसीखोला क्षेत्रमा आलु उत्पादन बढ्ने देखिएको छ। गाउँपालिकाले किसानलाई नयाँ प्रविधिबाट आलु लगाउन तालिम दिएको र सोही अनुसार खेती गरेको हुँदा आलु उत्पादन बढ्ने सम्भावना देखिएको कृषि शाखा प्रमुख तारा परियारले बताइन्। नयाँ प्रविधिबाट पुरानै बीउ लगाउँदा धेरै ठाउँका किसानले आलु बढेको जानकारी गराएको परियारको भनाइ छ। गाउँपालिको यस वर्ष आठ हजार किलो रैथाने जातको आलुको बीउ किसानलाई वितरण थियो। 

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि आयातित तरकारी रोक्नका लागि निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकासँग छलफल गरी रहेको बताए। पश्चिम बागलुङका चार पालिकाले बाहिरबाट आउने आलु लगायतका तरकारीजन्य वस्तु आयातमा रोक लगाई स्थानीय उत्पादनलाई जोड दिने गरी योजना बनाएको उनको भनाइ छ।

किसानलाई उन्नत जातका बीउविजन, आवश्यक तालिम, आधुनिक उपकरण र प्राविधिक सहयोग गरी उत्पादन बढाउन प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्ने उपप्रमुख कायतको भनाइ छ।