खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गरौँ: चिनियाँ राष्ट्रपति

आपसी सद्भाव कायम गरी साझा विकास, खुलापन र एकताको बाटोमा अघि बढ्नुको विकल्प नभएको राष्ट्रपति सीको भनाइ छ। 

तस्वीर: सिन्ह्वा

चीनका राष्ट्रपति सी जिनपिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान गरेका छन्। 

चीनको हाङ्जाउमा १९औँ एशियाली खेलकुद प्रतियोगिताको उद्घाटनअघि शनिबार आयोजित स्वागत समारोहमा राष्ट्रपति सीले  खेलकुदमार्फत शान्ति, एकता र समावेशिता प्रवर्द्धन गर्न आह्वान गरेका हुन्। 

राष्ट्रपति सीले साझा भविष्य भएका समुदायको सदस्यका रूपमा एशियाली राष्ट्रहरूले असल छिमेकी र पारस्परिक हितलाई प्रवर्द्धन गर्दै शीतयुद्धको मानसिकता त्यागेर विश्व शान्तिका निम्ति योगदान गर्नुपर्नेमा जोड दिए। 

विश्वव्यापी रूपमा मानवजातिले अकल्पनीय चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै उनले एशियाली जनताले ती चुनौतीलाई पनि ऐतिहासिक अवसरका रूपमा लिएर एकजुट भई सामना गर्नुपर्नेमा जोड दिए। साझा विकास, खुलापन र एकताको बाटोमा अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ। 

“एशियाली खेलकुदले एक अर्कालाई सांस्कृतिक रूपमासमेत समीप ल्याउँछ र एक अर्कालाई समृद्ध बनाउँछ। एशियाली संस्कृतिबाट एक अर्कालाई सिक्न, बुझ्न र एशियाली सभ्यता अनुभूत गर्न मद्दत पुग्नेछ,” उनले भने। 

असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ४५ देशले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्।