कला र संस्कृतिमा विकृति बढ्यो: मदनकृष्ण श्रेष्ठ

मौलिक कला र संस्कृतिको जगेर्ना गर्न सके मात्रै पहिचान कालान्तरसम्म रहिरहने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको भनाइ छ।

काठमाडौँ– वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपालको कला, संस्कृति, परम्परा र रीतिरिवाजमा विकृति भित्रिएको बताएका हुन्। सबै जना मिलेर आ–आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने उनको सुझाव छ। 

“पहिलाको परम्परा, गीत, संगीत धेरै राम्रा थिए। तर अहिले त्यसमा विकृति र विसंगति बढिरहेको छ। यसलाई हामीले रोकेर आफ्नो मौलिक संस्कृति र पहिचान झल्कने परम्परा र रीतिरिवाजमा लाग्नुपर्छ। हाम्रो मौलिक संस्कृति र सभ्यता जोगाउन सके मात्रै हाम्रो पहिचान रहन्छ,” उनले भने। 

उनले स्रष्टाहरूले आफ्ना सिर्जनाहरू कालजयी हुने गरेर प्रस्तुत गर्नुपर्ने बताए। लुःजः इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठसहित एक दर्जन बढी कलाकार र स्रष्टाहरूलाई सम्मान गरिएको थियो।