नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय हुने अमेरिकी सांसद भोजनीको प्रतिबद्धता

अमेरिकी सांसद भोजनीले टेक्सासमा नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने र विश्वस्तरमा रहेका नेपालीको स्तर र जीवनशैली उकास्न समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ– अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगमा आफू सक्रियतासाथ लाग्ने प्रतिबद्धता जनाएका छन्। सगरमाथाको आधारशिविर जानुअघि काठमाडौँमा भएको अन्तरक्रियामा उनले नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको बताउँदै अमेरिकामै बसेर नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

सांसद भोजनीले पर्यटनका माध्यमबाट नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने औँल्याए। नेपालको प्रकृति र संस्कृति विश्वकै अनुपम रहेको उनको भनाइ थियो। सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनीजस्ता ऐतिहासिक सम्पदा नेपालको सान र गौरव हुन् भन्दै उनले यिनैका माध्यमबाट नेपालले समृद्धितर्फको यात्रा तय गर्न सक्ने बताए। “पर्यटन नेपालको अर्थतन्त्र उकास्ने महत्त्वपूर्ण माध्यम हो,” उनले भने। 

सांसद भोजनीले अरू समुदायझैँ नेपाली समुदायका हरेक समस्यालाई आफ्नो समस्या मानी सदैव व्यक्तिगत र राज्य सरकारका तर्फबाट सहयोग गरिरहेको बताए। उनले आफ्नो राज्यमा नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने र विश्वस्तरमा रहेका नेपालीको स्तर र जीवनशैली उकास्न समन्वय गर्ने प्रतिबद्धता पनि जनाए।

कार्यक्रममा भोजनीले साना–साना कार्यदेखि वकिल हुँदै सफल व्यावसायिक ‘आइकन’ र टेक्सास राज्यको प्रतिनिधि बन्नेसम्मको आफ्नो संघर्षका कथा पनि सुनाएका थिए। 

डा. भोला रिजालले भोजनीलाई टेक्सासमा रहेका नेपाली समुदायसँग मिलेर काम गर्न सुझाव दिँदै नेपाली संस्कृति, कला र पर्यटनलाई विश्वस्तरमा प्रवर्द्धन गर्न प्रोत्साहन गरे।

वरिष्ठ संगीतकार तथा म्युजिक रोयल्टी कलेक्सन सोसाइटी नेपालका अध्यक्ष सुरेश अधिकारीले नेपाली संगीतलाई टेक्सास मात्रै नभई अमेरिका र विश्वका अन्य धेरै ठाउँमा पनि प्रवर्द्धन गर्न मिलेर काम गर्न भोजनीलाई आग्रह गरे।

नेपाल टेलिभिजनका कार्यकारी कार्यक्रम निर्माता दीपक समीर आचार्य र अधिवक्ता दीपक राईले भोजनीलाई नेपाली समाजका विभिन्न पक्षहरूको परिचय सधैँ नेपाली संस्कृति र पर्यटनलाई विश्वव्यापीकरण गर्न यस्तै सामाजिक सद्भाव राख्ने व्यक्तित्वको खाँचो रहेको बताए।

कार्यक्रम नेपाली पर्यटनसम्बन्धी बाल गीतको एनिमेटेड भिडियो “नेपाल हेर्न जाऔँ” सार्वजनिक गरिएको थियो। मिसन किड्स च्यानलमा सार्वजनिक हुने उक्त भिडियोमा डा. भोला रिजालले शब्द रचना, बीपी वाग्लेले संगीत र भद्र ओली, सरगमश्री भट्टराई र विदित अधिकारीले स्वर दिएका छन्।