दाहाल–सीबीच द्विपक्षीय हितका विषयमा खुला र स्पष्ट छलफल भयो : प्रधानमन्त्रीको सचिवालय

दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी ‍जिनफिङबीचको भेटवार्ता भएको छ। चीनको साताव्यापी भ्रमणका लागि शनिबार चीनको हाङजाओ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुल्ला र स्पष्ट रूपमा छलफल गरेको र सो भेट ऐतिहासिक भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

“वार्तामा दुवै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो। यसैगरी दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

यस्तैगरी, भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएको बताइएको छ। प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलसँग सामूहिक रूपमा समेत गरी एक घण्टा छलफल भएको थियो।

छलफलमा राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तिस्वको पञ्चशील सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको भेदबिना सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने बताए। 

प्रधानमन्त्री दाहालले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा चिनियाँ राष्ट्रपति सीले अघि सारेका नवीनतम अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्त्वपूर्ण रहेको बताए।

“उहाँले नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अंगीकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पार्नु भयो,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको बेल्ट एन्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकेको स्मरण गर्नुभयो।”

प्रधानमन्त्री दाहालले चीनको विकासले एशिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षासमेत व्यक्त गरे। राष्ट्रपति सीले प्रधानमन्त्री दाहालसँगका यसअघिका भेटहरूको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एशियाबाट पहिलो नेताका रूपमा चीनमा स्वागत गरेको स्मरण गरेका थिए। उनले यस किसिमका छलफलले दुई देशबीचको सम्बन्ध र विश्वासलाई अझ सुदृढ गर्ने आशा व्यक्त गरे।