सोमालियामा आत्मघाती आक्रमण: २० जनाको मृत्यु, ४० घाइते

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।

तस्वीर: एएफपी

मध्य सोमालियाको बेलेडवेन शहरमा आत्मघाती कार बम आक्रमण हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। 

एक सुरक्षा जाँच केन्द्रमा शनिबार भएको आक्रमणमा अरू ४० जना घाइते भएको स्थानीय अधिकारीलाई उद्‌धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। 

निकै ढिलो गरी सुरक्षा बल र स्वास्थ्य टोली घटनास्थलमा पुग्दा बढी क्षति भएको बेलेडवेनका जिल्ला आयुक्त ओमार अलासोले बताए। आक्रमणमा घर तथा व्यापारिक केन्द्रहरू ध्वस्त भएको र ती घरभित्रका नागरिकसँग सम्पर्क हुन नसकेको उनको भनाइ छ। 

“आतंकवादी हमलासँग सम्बन्धित विवरण संकलन गरिरहेका छौँ। हताहतको संख्या उल्लेख्य छ र हामी पीडितलाई स्थानीय अस्पतालमा पुर्‍याइरहेका छौँ,” उनले शनिबार राति भने, “ यो निकै स्तब्ध पार्ने आतंकवादी हमला हो।”

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। 

सामान्यतया मोगादिसु र सोमालियाका अन्य ठाउँहरूमा अल–शबाब चरमपन्थी समूहले यस्ता आक्रमणहरू गर्ने गर्छ।