वर्षा र असिनाका कारण बागलुङमा घट्यो स्याउ उत्पादन

चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। ढोरपाटन क्षेत्रमा मात्र २०० भन्दा बढी किसानले स्याउखेती गर्दै आएका छन्।

बागलुङ– निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका ३०० र स्थानीय प्रजातिका २०० स्याउका बोट छन्। 

उनले दुवै प्रजातिका बोटबाट गत वर्ष १५ क्विन्टल स्याउ उत्पादन गरेर बिक्री गरे। तर यसपटक भने उनको स्याउ बगान रित्तै छ।

गत चैत र वैशाखमा परेको असिनाका कारण उनको स्याउ बगानको उत्पादनमा कमी आएको छ। दुई वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको स्याउ गत वर्ष राम्रो उत्पादन दिएको भए पनि यस वर्ष उत्पादनमा कमी आएको उनले सुनाए। 

“गत वर्ष १५ क्विन्टल स्याउ बिक्री गरेको थिएँ, यस वर्ष २० देखि २५ क्विन्टल बिक्री गर्ने लक्ष्य थियो,” बुढाथोकीले भने, “चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आयो।”  उनले २०४८ सालदेखि  परम्परागत तरिकाले स्याउखेती गरिरहेका छन्। मसगाउँमा रहेको १५ रोपनी जग्गामा उनको स्याउखेती छ। 

असिनाका कारण ढोरपाटन र निसेल्ढोर क्षेत्रका स्याउ किसान अहिले निराश छन्। ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण स्याउ उत्पादन घटेपछि व्यावसायिक उत्पादनमा अग्रसर भएका किसान समस्यामा परेका हुन्। कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएको आधुनिक प्रजातिको स्याउको बिरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो। तर, उक्त स्याउको परीक्षण सफल भएपछि अहिले पुनः नयाँ बिरुवा थप भइरहेको छ।

सो क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती सफल नभए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको स्याउको बिरुवा भने उत्कृष्ट देखिएको छ। ढोरपाटन उपत्यका, सेन्तुङ, श्यालपाखे र निसेलढोर, मसलगायत स्थानमा परम्पराकालदेखि नै फाट्टफुट्ट स्याउखेती हुने गरे पनि त्यसले व्यावसायिकता पाउन थिएन।

ढोरपाटन–९ ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले समेत १८१ वटामध्ये केही बिरुवामा गत वर्षदेखि स्याउ फल्न थालेको बताउँदै यस वर्ष भने असिनाका कारण स्याउ निकै कम फलेको बताए। 

स्थानीय परम्परागत स्याउखेती छाडेर इटालियन प्रजातिको स्याउखेती लगाउन अग्रसर भए पनि यसपटक ढोरपाटन क्षेत्रको स्याउ उत्पादनमा भारी गिरावट आएको किसान रामबहादुरको भनाइ छ। ढोरपाटन क्षेत्रमा २०० भन्दा बढी किसानले परम्परागत र एक दर्जन किसानले व्यावसायिक स्याउखेती गर्दै आएका छन्।