सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणबापत उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणबापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले मरासिनी र चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको ठहरसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। 

बढी भुक्तानी दिएको ६ लाख ५८ हजार ४४० रुपैयाँ बिगो कायम गरी अख्तियारले मरासिनी र धौधरीविरुद्ध मुद्दा दायर गरेको छ। यस्तै, अख्तियारले जनता मावि भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।